सुमित्रा कंडेल,पाल्पा-
सामान्यतया गाउँ घरका छेउछाउ, बगैँचा,बारी वरपर मौरीका घार राखेर मौरिपालन गरिन्छ। पहाडी जिल्लामा मौरी पालनका लागि उपयुक्त वातावरण हुदा यसरी पालिएको मौरीबाट किसानले राम्रै आम्दानी पनि लिएका छन् ।
कुनै पनि कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । तर पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन व्यवसाय सुरू गरेको छ । बगनासकाली गाउँपालिकाको वडा नं १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक रुपबाट मौरीपालन सुरु गरेको छ ।
कृषिमा नागरिकको आकर्षण बढाउन र व्यावसायिक ढङ्गबाट व्यवसाय गर्न उत्प्रेरणा जगाउन कार्यालयले मौरीपालन सुरू गरेको हो। वडा कार्यालयको अगाडिमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्राही तथा सर्वसाधारण जोकोहीलाई पनि अनौठो लागेर कार्यालय परिसरमा राखिएका मौरीघारका बारेमा चासो लिएर सोधपुछ गर्ने गरेको कृषि प्राविधिक खिमराज कोइरालाले बताउनुभयो ।
सानो लगानीमा घरमा दुई चार घार राखेर व्यवसाय अगाडि बढाउन सकिने, धेरै मेहनत गर्न नपर्ने हुँदा किसानलाई व्यवसायतर्फ आकर्षित गर्नका लागि वडा कार्यालयबाटै मौरीपालन व्यवसाय सुरु गरिएको प्राविधिक कोइरालाले जानकारी दिनुभयो ।
“ वडा कार्यालयमा आउने सेवाग्राहीले मौरीपालन गर्ने तरिका, लागत, उत्पादन, बजारीकरणसम्बन्धी जानकारी लिने गर्नुहुन्छ”,वडाध्यक्ष शेर बाहादुर चिदिले भन्नुभयो “कार्यालयमा काम सम्पन्न नहुँदासम्म मौरीपालनको तरिका सिक्न सेवाग्राहीले चासो दिने गर्नुभएको छ”। उहाँका अनुसार आगामी दिनमा सबै नागरिकका घरमा एक घर एक मौरी घार अभियान संचालन गर्ने योजना कार्यालयको छ।
यो जिल्लामा नै सरकारी कार्यालयमा नयाँ कुराको सुरुवात भएकाले पनि यस बारेमा धेरैको चासो बढेको छ । वडा कार्यालयको आ व ०८१/०८२ को एक लाख लगानीमा दशवटा आधुनिक घारमा मौरीपालन सुरू गरिएको वडाध्यक्ष चिदीले बताउनुभयो ।आफू पनि किसान भएकै कारण अन्य किसानलाई थोरै लगानीमा पनि व्यवसाय गर्न सकिन्छ भन्ने प्रस्तुत गर्न र वडाकाे नयाँ अभ्यास भएकाले यसबाट किसानले केही सिकेर घरमा व्यवसाय गर्न उर्जा मिलोस भन्ने उद्देश्यले मौरीपालन सुरू गरेको वडाध्यक्ष चिदीको भनाइ छ।यो वर्ष सुरुवाती चरणमै सबैले गरेको प्रसंशा र दिएको स्याबासीले आगामी वर्ष अझै विस्तार गरेर लैजाने उत्प्रेरणा मिलेको समेत बताउनुभयो । यस घारबाट उत्पादन हुने मह वडावासि ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति,बालबालिकालाई वितरण गर्ने र केहि मात्रामा भएपनी आर्थिक आयआर्जन गर्ने वडाकाे योजना रहेको वडासचिव विराट गैरेले जानकारी दिनुभयो ।
कार्यालय मा सेरेना जातको मौरीपालन गरिएको छ । वडामा उत्कृष्ट किसानलाई मौरीपालनका लागि वडा कार्यालयबाट गोलासहितको घार वितरण गर्ने समेत वडाको योजना छ ।बगनासकाली गाउँपालिकाका विभिन्न क्षेत्रमा मौरी पकेट क्षेत्र बनाइ मौरीपालन गरिदै आएको छ।












