पाल्पा – माथागढी गाउँपालिका पाल्पाले आर्थिक वर्ष ०८१र८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले नागरिकका गुनासा सुन्ने र सेवा प्रवाहमा सुधार ल्याउने तथा विकास परियोजनाको पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडाध्यक्षहरू, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, स्थानीयवासी,सरोकारवाला निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि पत्रकार तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद घिमिरेले प्रगति विवरण प्रस्तुत गर्दै चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा भएका प्रमुख विकास निर्माणका गतिविधि, बजेट खर्च विवरण तथा नीति कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । उहाँले गाउँपालिकाले सिमित साधनस्रोतका भरमा पालिकाबासीले अनुभूत गर्नेगरी काम गर्ने प्रयास गरेको बताउनुभयो ।कार्यक्रममा सहभागीहरुले विकास निमार्ण,शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासम्बन्धी सेवाहरूको प्रभावकारिता सुझाव,सुधारका सम्भावनाहरूबारे छलफल गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले कृषकहरूका लागि थप अनुदान कार्यक्रम सञ्चालन, सडकमर्मत तथा खानेपानी व्यवस्थापन सुधार लगायत विभिन्न विषयमा आफ्ना गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले सार्वजनिक सुनुवाइ कार्यक्रम पारदर्शिता र जवाफ देहिताको महत्वपूर्ण माध्यम भएको बताउदै स्थानीय सरकार जनताको सरकार भएको वताउनु भयो । नागरिकका माग र आवश्यकताका आधारमा योजनाहरू बनाइने र विकास निर्माणका कामहरू प्रभावकारी रूपमा अघि बढाइने समेत अध्यक्ष चिदीले वताउनु भयो ।
गाउँपालिकाले नागरिकहरूको सुझावलाई प्राथमिकताका साथ समेट्ने वताउदै शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमा अझै प्रभावकारी योजनाहरू अगाडी वढाइने जनाएको हो। अध्यक्ष चिदीले सुनुवाईमा उठाइएका विषयहरूलाई सम्बोधन गर्दै सम्भव भएसम्म तत्काल समाधान गर्ने तथा दीर्घकालीन योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दल तथा दलका प्रतिनिधिहरूले आफ्नो धारणा राख्दै पालिकाको समग्र विकासमा दलको सहयोगी भूमिका रहने बताएका हुन् ।
गाउँपालिकाले नागरिकहरूबाट प्राप्त सुझावका आधारमा आगामी योजनाहरू बनाउने, सेवा प्रवाहमा सुधार गर्ने र नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने बताएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम काबिल पाल्पाली मल्टिमिडिया प्रा.लि को सहजिकरणमा सम्पन्न भएको थियो ।












