तानसेन, चैत २ गते । राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताउनुभयो ।
विगतमा राजनीतिक स्थिरता नहुँदा सरकारले काम गर्न नसकेको र जनतामा निरासा छाएको बताउँदै उहाँले सरकारको स्थिरताले मात्रै जनअपेक्षा अनुसार काम गर्न सकिने वताउनु भयो ।
नयाँ संविधान जारी भएपछि तीव्र गतिमा देशको विकास होस् भन्ने जनचाहना रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले कानुन बनाएर जनताको काम गर्ने कुरामा ध्यान दिएको सिंहले बताउनुभयो । विगतको सरकार बनेपछि विभिन्न काण्ड सुनिने गरेकोमा वर्तमान सरकार आएपछि कुनै पनि काण्ड तथा नराम्रो काम सुन्न नपरेको उहाँको दावी छ ।
पछिल्लो समय राजावादीको गाइगुइ देखिएता पनि संविधानअनुसार राजावादीहरूले सभा र प्रदर्शन गर्न पाउने अधिकार उनीहरुमा रहेको वताउदै राजतन्त्र ल्याउने कुरा कदापी स्वीकार गर्न नसकिने उहाँको भनाई छ ।
पूर्व विशिष्ट व्यक्तिहरूको सेवा सुबिधाको बारेमा यस अघिको सरकारले नै निर्णय गरेर कार्यान्वयन गरेको र हाल मन्त्री परिषदवाट सैद्धान्तिक स्वीकृति दिएर कानुन बनाउन गृहमन्त्रालयले काम गर्ने कुरा भएको उहाँको भनाई छ ।
पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यम्बाट आम जनतामा अझै निरासा छाउने कुरा समाचारमा आइरहेको बताउँदै उहाँले व्यवस्थामाथि प्रश्न उठ्ने गरी झुठो कुरा सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो । कुनै पनि मिडियाले दिएको सूचना, समाचार सत्य तथ्य कुरा ठीक हो, वा होइन भन्ने कुरा बुझेर मात्र सम्प्रेशण गर्न मन्त्री सिंहले आग्रह गर्नु
भएको छ ।












