बासुदेव ढकाल
चैत्र ४,रामपुर पाल्पा । मौरी मरेर सखाप भएपछी मौरी पालक मारमा परेका छन् । पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका अगुवा कृषक जय नारायण न्यौपानेले मह काढ्ने समयमा आएर मौरी मर्दा सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेको हो ।
२०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आउनु भएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा रहेका ६० घर मौरी एक एक गदै मरेर घार खाली हुन पुगेको छ । गाँउमा अन्य छिमेकीहरुको पनि मौरी अचानक मरेको न्यौपाने वताउनु हुन्छ।
यस बर्ष रामपुरमा तोरी खेती राम्रो भएको र मौरीलाइ चरन राम्रो हुने आशा लिएको समयमा मौरी काढ्ने र घार गोला पनि विक्री गरेर राम्रो आम्दानी बढाउने सपना लिएका ब्यवसायिक कृषक न्यौपानेको आशा निराशामा बदलिएको छ । गत माघको अन्तिमबाट मौरी दिनानुदिन घट्दै गएर फागुनको अन्त्यतिर सबै घार खाली हुदा आफु आश्चर्यमा परेको कृषक न्यौपाने वताउनु हुन्छ।
खाली घार, आधा चाका देखाउदै न्यौपानेले आफ्नो २५ बर्षको अनुभवमा यस्तो समस्या अहिले सम्म नआएको वताउनुहुन्छ । हाल सम्म् मौरी पालनबाट राम्रो आम्दानी लिदै मौरी पालन फर्म संगै घार बनाउने उद्योग संचालन गर्दै आउनु भएका न्यौपानेले यस बर्ष लोकल मह,घार र गोला बिक्री गरेर सात लाख बरावर आम्दानी गर्ने लक्ष्य राखेकोमा सवै सपना चकनाचुर भएको वताउछन्।
हाल सम्म मौरी मरेर स्वाहा हुनुको कारण यकिन हुन नसकेपनि, कृषकहरुले तोरी फुल खेल्दाको सिजनमा अत्याधिक विषादी प्रयोगले हुन सक्ने न्यौपानेको अनुमान छ । त्यसैले खेतिपातीमा बिषादी छर्दा साँझ ५ बजे पछि छर्न कृषकहरुलाई उहाँको सुझाव छ। विहान ३ बजे देखी दिउसो ४ बजे सम्म रस खोज्न मौरी घारबाट वाहिर आउने जाने समय भएकोले साँझ ५ बजे पछी विषादी छरेमा मौरीलाइ कम असर पर्ने पनि कृषक न्यौपानेको अनुभव छ।
पूर्वी पाल्पामा पुरानो चिनिएको न्यौपाने मौरी फर्मबाट पाल्पा जिल्लाका विभिन्न गाँउ ठाउ र स्याङ्गजा, तनहु, नवलपरासी, कास्की र झापा सम्म घार गोला विक्री हदै आएको छ । बर्षेनी मह उत्पादन गरी मनग्य आम्दानी लिदै आएको न्यौपानेले यस वर्ष भने रित्तो हात हुने दुखेसो सुनाउछन्। न्यौपाने मौरी फर्ममा मौरी प्रतिघार गोला नौ हजार र मह प्रति किलो बाह्र सयमा विक्री हुदै आएको छ।













