पाल्पा २९ फागुन,
रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा नेपाल सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लाका साथ मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन तथा साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर मनाउने परम्परा छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।














