तानसेन।
पाल्पा - ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य वजेटको अभावको कारण देखाउँदै निर्माण कार्य अवरुद्घ हुने भएको छ। पुरातत्त्व विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले काम सकेको जनाएको छ भने हाल मूल ढोका निर्माण गर्न वजेट नहुँदा काम अगाडि बढ्न नसकेको विभागको भनाइ छ ।
ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझैँ ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो । दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न वजेट नहुँदा समस्या भएको उहाँले बताउनुभयो । अब अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी वजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताउनुभयो ।
मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र श्रृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूल ढोकाको बाँकी काम गर्न थप ५० लाख बढी थप वजेटको बिनियोजन गर्नुपर्ने आवश्यक रहेको बिभाग बताउछ।
मूल ढोका समयमै सम्पन्न नहुँदा यसबारे नकारात्मक सन्देश फैलिएको स्थानीय बासिन्दा बताउँछन् । पाल्पाको ऐतिहासिक मूल ढोका समयमै सम्पन्न नगरी त्यसै छाड्दा मूल ढोकाको अवलोकनका लागि पाल्पा आएका स्वदेशी तथा विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको स्थानीय बासिन्दाकाे भनाइ छ । मूल ढोका बनाउने काम सुरु गरेपछि समयमै सम्पन्न गर्नमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उनीहरू बताउँछन् । तत्कालिन प्रधानमन्त्री जङ्बहादुर राणाका भाइ बद्रीनरसिंह कुँवर तानसेनमा तैनाथ रहँदा वि.स. १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए ।





