पाल्पा।
पाल्पाको पूर्वखोलामा दुई वटा पक्की पुल बन्दै
जिल्लाको पूर्वखोला गाउँपालिकामा दुई वटा पक्की पुलको शिलान्यास भएको छ । हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्ड अन्तर्गतको वडा नं. २, जल्पास्थित रकम खोला र वडा नं. ४ देवीनगर स्थित सिमल्दी खोलामा पक्की पुलको शिलान्यास लुम्विनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमीश्वर ढकालले गर्नुभएको हो ।
पुलको शिलान्यास गर्दे मन्त्री ढकालले नागरिकको जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार निर्माणमा प्रदेश सरकारले ध्यान दिएको वताउनु भयो । यस्तै पुल शिलान्यास कार्यक्रममा प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले आफू प्रदेश सभाको सदस्य भएदेखि नै पूर्वखोला गाउँपालिकाको पहुँच मार्गको लागि पहल गरिरहेको र अहिले बल्ल त्यो कामले सार्थकता पाउने क्रममा रहेको बताउनुभयो ।
प्रदेश सरकार आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी विकास निर्माणको काममा लागिरहेको लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार विकास सचिव भीमार्जुन आचार्य, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारूलगायतले पुल निर्माणपछि यस भेगका नागरिकको यात्रा सहज हुने जानकारी गराउनु भयो ।
देवीनगरको सिमल्दी खोलामा तीन करोड ७५ लाख ४१ हजार लगानीमा र रकम खोलामा ६ करोड ८ लाख ९ हजार लागतमा पुल बन्न लागेको
हो ।












