पाल्पा- तानसेन “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ तेस्रो कृषि मेला प्रर्दशनी २०८१ तानसेन ९ तिन्टीआँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ को प्रर्वद्धनात्मक सहयोगमा कृषि मेला गरिएको हो ।
कृषि मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले यस्तो खालको कृषि कार्यक्रमले किसानको श्रमलाइ सम्मान गर्न सघाउ पुयाउने बताउनु भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले कृषि क्षेत्रमा मदनपोखराले देशमै छुट्टै पहिचान बनाएको कुरामा जोड दिदै २००८ साल तिरै भएको कृषी आन्दोलन मदनपोखरा बाटै सुरु भएकोमा मदनपोखरेलीमा सधै गर्व गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व मन्त्री सोमप्रसाद पाण्डेले मदनपोखराले कृषि क्षेत्रमा गरेको लगन, परिश्रमले गर्दानै आजको मदनपोखरामा परिचित भएको बताउनु भएको छ । उहाँले मदनपोखराका कृषकहरुको दुखसुखमा आफु सधैव साथमा रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला संमन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु काकी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, उद्योग वाणिज्य संघ पाल्पाका सचिव विदुर घिमिरे लगायतले कृषि क्षेत्रमा भएका समस्याहरुका बारेमा सबैले चासोदिनु पर्नेमा जोड दिदै यस तर्फ सम्बन्धित निकाय गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो। मेलामा किसानले विभिन्न कृषि उत्पादनसम्बन्धी स्टलहरु राखका थिए । खाद्यान्न, तरकारी , फलफुल , दलहन , तेलहनका सामाग्री, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार मेलामा राखिएका थिए ।
कृषि मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा मदनपोखरामा कृषि क्षेत्रमा अमुल्य योगदान पुर्याउनु भएका ५ जना अगुवा कृषकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा तानसेन ९का वडाध्यक्ष राजेश कुमार अर्यालको स्वागत, सहकारीका उपाध्यक्ष सन्तोषकुमार अर्यालको संचालनमा चलेको थियो ।













