बासुदेव ढकाल फागुन ४ पाल्पा-
पाल्पाको रामपुरमा तेह्र दिनसम्म चलेको चौथो रामपुर महोत्सव,कृषि प्रदर्शनी तथा व्यापार मेलामा ८ करोडको कारोबार भएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । त्यस्तै मेलामा दुई लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गरेको संघले निश्कर्ष निकालेको छ ।
“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको मेलामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गण्डकी बेशी क्षेत्रका दुई लाख बढी सर्वसाधारणले मेला अवलोकन गरेको र मेलाको स्टलमा ८ करोड बढीको कारोबार भएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनु भएको छ। महोत्सवका माध्यमबाट आर्थिक चलायमान बनाउने आयोजकले उद्धेश्य लिएको र मेला आशा गरेभन्दा वढी उपलब्धी प्राप्त गरेको समिक्षाले निश्कर्श निकालेको हो बताउदै कालीगण्डकी वेशी रामपुर क्षेत्रको पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्न मेलाले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
समिक्षा बैठक पश्चात संघले टिकट बिक्री बाट ७७ लाख ५९ हजार ३ सय रुपैयाँ टिकट विक्री बाट आम्दानी गर्न सफल भएको जनाएको छ । संघले मेलामा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई विशेष प्राथमिकता दिएको थियो। माघ १५ देखी २७ गतेसम्म संचालन भएको मेलाको क्रममा भएको आम्दानी र खर्च फागुन ७ गते भित्र पेश गर्न संघले उपसमितिहरुलाई आग्रह गरेको छ । लेखापरीक्षण पश्चात फागुन १७ गतेसम्म पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गर्ने संघले जनाएको छ ।
महोत्सव अवधिभर दैनिक रुपमा मेलामा रमाउन र खरिद विक्रीका लागि हजारौं दर्शकहरुको घुँईचो लागेको मेलामा बहुराष्ट्रिय कम्पनीका उत्पादन ,अटो मोबाईल, प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको चार सय ५८ वटा विक्री स्टल सहित बालउद्यान, सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित वस्तु प्रदर्शनी तथा विक्री, अण्डर वाटर फिस टनेल, राष्ट्रिय स्तरको क्लवहरुको विच भलिबल प्रतियोगिता, प्रदर्शनी आकर्षणको रुपमा रहेको थियो ।













