प्रेम पत्रले झन्डै बिताएको! ( सन्दर्भ भ्यालेन्टाइन डे)
साहित्यकार आर वि निस्चल
आफ्नै गाउँकि एक युवतीलाई प्रेम पत्र लेखेँ। उक्त प्रेम पत्र उनलाई दिन भनी एकदिन बिहान ( करिब ८ बजे) उनको घरमा गएँ। उनी दलानमा सुपो (नाङ्लो)मा चामल केलाउँदै थिइन् । केहीछिनको कुराकानीमा थाहा लाग्यो- संयोगले त्यतिखेर घरमा उनी एक्लै रहिछन्। प्रेम पत्र दिन उचित मौका यही हो भनी उनलाई प्रेम पत्र समात्न भनेँ। तर, उनले उक्त पत्र समात्न मानिनन्। म पत्र लिन भन्छु, उनी मान्दिनन्। कसैगरे पनि उनले पत्र हातमा नलिएपछी लाजले होला भन्ने ठानेर मैले उनले चामल हेर्दै गरेको सुपोमा उक्त चिठी राखिदिएँ। उनले हातले चामल यताउता सारिरहिन् तर पत्र समातिनन्।
अरूले उक्त पत्र देख्लान भन्ने मेरो मनमा कत्रो डर छ। (कारण, उनी कथित माथिल्लो जातकी । ) तर, उनले पत्र नछोई चामल हेर्दै रहिन्। कोही आइहाल्ने हुन् कि भनेर मनमा त्रास छ । चनाखो भै यताउता नजर डुलाउँछु। डरले गर्दा पत्र आफै फिर्ता लिउँ कि झैँ पनि लाग्छ। त्यत्तिकैमा डहरमा उनका दाजु (अंकलको छोरा) आएको देखेँ। अब मरिने भइयो भनेर हतारहतार उनलाई उनका दाजु आएको संकेत गरेँ। कस्तो अचम्म ! उनले चामल हेर्दा जस्तै गरि चिठी सुटुक्क चामलभित्रै लुकाइन्। तर, विडम्बना ! उनका दाजुले कहिले ल्याएको यो चामल? कस्तो राम्रो चामल भन्दै सुपोको चामल यताउता सार्न थाले। उनको दाजुले पत्र भेटाए भने मेरो के हालत हुने होला भनेर म डराएको छु। के गर्ने के नगर्ने मैले केही सोच्नै सकिनँ। उनका दाजुले चामल सार्दै गर्दा झण्डै चिठीमा हात के पुर्याएका थिए, उनले चामल हेरेर ( ढुङ्गा, बियाँ आदि छुट्याएर) सकियो भनी हतारहतार सुपो भित्र लगिन्। म बालबाल बचेँ। केटीहरू केटाभन्दा चलाख हुँदारहेछ्न भन्ने तेतिखेर थाहा लाग्यो। हातले पत्र नसमाते पनि अप्ठ्यारो स्थिति सिर्जना हुनबाट बचाएकोमा उनलाई मनमनै धन्यवाद भनेँ र एक्लै ( मनमनै) हाँसे पनि। उनका दाजुसँग केही समय कुरा गरेर म आफ्नो घर फर्किएँ।
५० वर्ष बिते । उनले त्यो पत्र पढिन कि नपढी च्यातेर फालिन् केही थाहा भएन। उक्त पत्रको जवाफ अझै पाएको छैन। आज मेरा नातिनातिना केके डे भन्दै व्यस्त रहन्छन् । उनी पनि हजुरामा बनीसकेकी होलिन। त्यो दिन सम्झिएर एक्लै नोष्टाल्जिक भै हाँस्दै छु।













