सुमित्रा कंडेल,पाल्पा-
तानसेन नगरपालिकाको आयोजनामा द्वन्द्व पीडितहरुका लागि सिपमुलक तालिम अन्तर्गत व्यवसायिक लहरेबालि तथा कौशी खेती सम्बन्धि २ दिने तालिम सोमबारदेखी तानसेनमा सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अथिति तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतीक्षा गाहा सिङ्जालिले तालिमको उद्घाटन गर्दै स्थानीय तहले द्वन्द्व पीडितका पीडा सम्बोधनका लागी पीडित लक्षित कार्यक्रम ल्याएको बताउनुभयो ।उहाले पालिका स्तरमा द्वन्द्व पीडित समिति गठनका लागी प्रतिवद्धता समेत जनाउनुभयो ।नगरका १४ वटै वडामा नगरपालिकाले विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गरी नगरबासीहरुलाई आत्मनिर्भर बनाउन लागीएको समेत बताउनु भयो ।स्थानीय सरकारले वजेट छुट्याउँदा द्वन्द्व पीडितलाई पनि समावेश गराउनु पर्नेमा जोड दिएको बताउनुभयो। आगामी दिनमा पीडितहरुको आवश्यकता, चाहाना र सन्तुष्टि मिल्ने खालका द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउने बताउनुभयो । गाहाले परिपुरण पाउनु पीडितको अधिकार भएको र न्यायको प्रत्याभुति गराउनु तिनै तहका सरकारको भएको उल्लेख समेत गर्नुभयो।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापाले तालिम तालिममा मात्रै सिमित नगरी आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गर्न आग्रह गर्नुभयो । साथै उहाँले द्वन्द्व पीडितलाई रोजगार र आय आर्जनसङ जोड्न सिपमुलक तालिम अन्तर्गत व्यवसायीक कौसी खेती सम्बन्धि तालिम दिइएको बताउनुभयो ।
तालिममा बोल्दै तानसेन नगरपालिकाका प्रवक्ता यादव सिह कार्कीले कौसी खेती तालिम अति महत्व भएकाले तालिममा सिकेको कुरालाई ब्यबहारमा उर्तान आग्रह गर्नु भयो । नगरपालिकाले दिएको तालिमले थोरै भए पनि आर्थिक भार कम हुने, स्वच्छ तरकारी उत्पादन हुने, भान्सामा निस्कने कुहिने फोहोरको उचित ब्यबस्थापन हुने बताउनुभयो ।साथै उहाले सिपमुलक तालिम अन्तर्गत कौसी खेती सम्बन्धि तालिम संचालन गरेको बताउनु भयो । तालिममा कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले १७ जनालाई तालिम प्रदान गरिरहेको र तालिम पश्चात कौसी खेतीका लागी मल बनाउनका लागी विन र तरकारीको विउ प्रदान, कृषकहरुलाई कृषि औजार वितरण गर्ने बताउनु भयो । कृषि शाखाले समय समयमा कृषि सम्बन्धी तालिम प्रदान गर्दै आएको, तरकारीको विउ वितरण लगाएतका कृषि औजारहरु वितरण गर्दै आएको बताउनु भयो । आजसम्म चल्ने तालिमको सहजीकरण कृषि शाखा प्रमुख सरोज तिमिल्सिना, कृषि प्राविधिक आश्मा कार्की,पशु प्राविधिक दान बहादुर कुवर लगायतले गर्नुभएको छ।













