माथागढीमा चलिरहेको एकिकृत घुम्ती शिविरमा आइतबारसम्म २ हजार बढीले सेवा लिए
सुमित्रा कंडेल ,पाल्पा
माथागढी गाउपालिकाको आयोजनामा चलिरहेको एकिकृत घुम्ती शिविरमा आज तेस्रो दिनसम्म २ हजार १ सय बढीले सेवा लिएका छन। आतबार आज वडा न ५ मा सम्पन्न शिविरमा ५०३ जनाले सेवा लिएको गाउपालिकाले जनाएको छ। शनिबार हिजो वडा न. २ रुप्से तथा ३ कसेनीका १ हजार ९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन।त्यस्तै पहिलो दिन शुक्रबार ६ सय १० जनाले सेवा लिएको वडाध्यक्ष राजकुमार पन्थिले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले शनिबार कसेनीमा शिविरको उद्घाटन गर्दै नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर पालिकाले विभिन्न सेवा प्रदान गर्नु उदाहरणीय काम भएको बताउनुभयो । उहाले संघीयताको मूल मर्मअनुसार दुर्गमका नागरिकले घरदैलोमा सेवा पाउनु रहेको उल्लेख गर्दै पालिकाले यस्तो सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
शिविरमा ल्याबसहितको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण, पाठेघरको मुखको क्यान्सर जाँच,आवश्यक परामर्श र निःशुल्क औषधि वितरण, दन्त परीक्षण गरिएको छ । यस्तै माटोको परीक्षण, पशुपंक्षीलाई निःशुल्क औषधि वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, गरिबी परिचयपत्र वितरण, नक्सा पास विवरण सङ्कलन तथा प्रमाणीकरण सम्बन्धी काम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
जसमध्ये आइतबार आज वडा न ५ र ६ मा चलेको शिविरमा ज्येष्ठ नागरीक ८० जना ,पशु सेवा अन्तर्गत १४० जना,कृषि तर्फ ९३ जना र स्वास्थ्य सेवा तर्फ १९० जना गरी ५०३ जना र शनिबार कृषि तर्फ १६६ जना,पशुतर्फ २२७ जना,ज्येष्ठ नागरीक २०९ जना,स्वास्थ्य सेवातर्फ ३९९ र घर नक्सा अभिलेख ८ जना गरी १ हजार नौ जनाले सेवा लिएका गाउपालिकाका अधिकृत नित्यानन्द खनालले जानकारी दिनुभयो। पहिलो दिन शुक्रबार ज्येष्ठ नागरीक ३१७ जना,कृषितर्फ ७८ जना ,पशुसेवातर्फ ७० जना,स्वास्थ्य तर्फ २१७ जना,बालमैत्री ५,अपागं २ जना,आयुर्वेदिक तर्फ २३ जना गरी ६ सय १० जनाले सेवा लिएको वडाध्यक्ष पन्थिले जानकारी दिनुभयो। गाउपालिकाको केन्द्रमा पुगेर सेवा लिन नसकेका नागरिकलाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिएको र यसलाई निरन्तरता दिइने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।
शिविरमार्फत पालिकाले सबै सेवा दिएपछि नागरिकलाई दिन विताएर पालिका जानुपर्ने बाध्यताको अन्त्य हुँदा धेरै सहज भएको स्थानीयले बताएका छन् । शिविर ८ गतेसम्म चल्नेछ।













