पाल्पा
बगनासकाली गाउँपालिले १७ औं गाउँसभा सम्पन्न भएको छ । हिजो गाउँपालिका सभाहलमा सम्पन्न सभामा विभिन्न विषयगत समिति संयोजकले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादनको आधारमा गाउँपालिकाभित्रका सात जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र, दोसल्ला, मायाको चिनो र नगदसहित सम्मान गर्नुभएको हो ।
स्वास्थ्य शाख प्रमुख मणिराम अधिकारी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराई, चापपानी स्वास्थ्य चौकी इन्चार्ज सिर्जना चापागाइँ, रोजगार सेवा केन्द्र प्रमुख सरिता पाण्डे, वडा नम्बर ५ का प्राविधिक तथा सचिव अमर खाम्चा, वडा नम्बर २ का कार्यालय सहायक सनु खड्का र वडा नम्बर ९ का कार्यालय सहयोगी यज्ञप्रसाद पाण्डे सम्मानित हुनुभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँसभामा प्रस्ताव गर्नुभएको वार्षिक बजेट कार्यक्रम रकमान्तर गर्ने प्रस्ताव र कार्यपालिका सदस्य उमकला अर्यालले प्रस्ताव गर्नुभएको वन वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक प्रस्ताव स्वीकृति गर्दै अधिवेशन सम्पन्न गरेको छ ।
सभामा उठेका प्रश्नहरूको जवाफ दिदँै गाउँपालिका अध्यक्ष सरस्वती चिदी र उपाध्यक्ष हरिप्रसाद पाठकले हालसम्म भएका कामहरू सन्तोषजनक तरिकाले सम्पन्न भएको र प्राप्त सुझावका आधारमा कार्यक्रम अगाडि बढाउँदै जाने बताउनुभयो । गाउँसभामा गाउँपालिका अध्यक्ष चिदीले विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएकोमा सभाले अनुमोदन गरेको छ ।














