पाल्पा । पौष ९ गते देखि पौष १८ गते सम्म पाल्पा महोत्सव हुने भएको छ। कुटुम्ब मिडिया नेटवर्क प्रा.लिको मुख्य आयोजना र बगनासकाली गाउँपालिको प्रर्बदनमा पाल्पाको बगनासकाली गाउँपालिका १ चिलाङदी खेलमैदानमा १० दिने पाल्पा महोत्सव हुन लागेको सनिवार पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ।
महोत्सवमा विभिन्न स्थानीय कलासंस्कृति ’झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको प्रस्तुती, बगनासे साँचोको प्रदर्शनी एवम् बिक्री, फोटो ग्यालरी प्रदशनी गरिने मेला संयोजक न्यौपानेले जानकारी गराए। महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका गरी १ सय ५० स्टल रहने,प्रवेश शुल्क सर्वसाधारणलाई रु ८० र वृद्ध वृद्धा तथा विद्यार्थीको लागी रु ५० निर्धारण गरिएको आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा कल्चर एण्ड कन्ट्री विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१० दिन सम्म सञ्चालन हुने महोत्सवमा १ सय ५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवका लागि सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका र बालउद्यानको काम सुरुभैइरहेको छ। महोत्सवमा १ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ भने करिब ३ करोड रुपैयाँको कारोबार हुने लक्ष्य लिएको छ।
अन्य संघसंस्थाहरुले आयोजना गर्ने मेला महोत्सव भन्दा फरक र रचनात्मक ढंगले गर्नु पर्ने चुनौती रहेको सहभागी पत्रकारहरुको सुझाव थियो ।
मेलाको अर्को आर्कषकको रुमा हरेक दिन चर्चित राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।













