पाल्पा ,२९ कार्तिक ।
तिनाउ गाउपालिकाको घनघोर जंगल, बिचमा पोखरी, अनी पोखरीको छेउमा मन्दिर अवस्थित छ । यस मन्दिरलाई सत्यवती बजैको मन्दिरको नामले चिनिन्छ । यस मन्दिरमा नेपालमै अनौठो चिच्याएर बर माग्ने प्रचलन रहेको छ । गत बर्ष जोग नपरेको र यस पटक फेरी जोग परेका कारण कार्तिक २७ गते एकादशीबाट ३० गते पूर्णिमासम्म मेला चल्ने र दर्शन गर्ने भक्तजनको समेत बाक्लो उपस्थिती बढेको तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनु भयो ।
सिद्धार्थ राजमार्गको तिनाउ चर्चरे, झुम्साबाट करिब २ घण्टाको पैदल यात्रा र १ घण्टाको सवारी यात्रामा पुगिने यस मन्दिरमा केही वर्ष अघि बाट मात्र यातायातका साधन चल्न थालेका हुन । सत्यवती बजै (देबी) कान कम सुन्ने भएकीले यहाँ चिच्याएर बर माग्ने प्रचलन पुस्तौं देखी चलि आएको छ । यहाँ चिच्याएर बर मागेमा पुरा हुन्छ भन्ने जन बिस्वासका साथ नेपालबाट मात्र नभई भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।
यहाँ भाकल गरेमा सन्तान नभएकालाई सन्तान प्राप्ती हुने, रोग ब्याधी नलाग्ने, धन सम्पत्ती बृद्धी हुने जस्ता जनबिस्वास रहेको हो । यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैया भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यबस्थापन समितिले आकलन गरेको छ ।
खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेला परिचित छ । यहाँ चिच्याएर भकल गरे पुरा हुने भक्तजन बताउछन । भक्तजन भाकल पुरा भएसंगै पुन पुजा गर्न पुन आउने गरेको स्थानियको भनाई छ । रातिमा जागराम बसी बासंको लिंगो ताल छेउमा गाड्ने र अर्को दिन आफूले गाडेको लिंगो पूजा गरी चिच्याएर बर माग्ने यहाँको पुरानो प्रचलन हो ।
जिल्लाको महत्वपुर्ण धार्मिक स्थलका रुपमा स्थापित सत्यवति मन्दिरले देश भित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाले जनाएको छ । यस्ता धार्मिक स्थलको बिकास र संरक्षणमा तिनै तहका सरकारले बिशेष कार्यक्रम ल्याउन सके यसले स्थानिय स्तरमा आय आर्जनको बृद्धी र पर्यटन प्रवर्धनमा टेवा मिल्ने देखिन्छ ।













