सुमन कार्की कार्तिक,५ पाल्पा
पूर्वखोला गाउँपालिकाको सिलुवामा खुल्ला क्लब स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीताका साथै वृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार राखीएको यस प्रतियोगीतामा वृहत साँस्कृतिक कार्यक्रम समेत हुने छ।
मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गाउँपालिका, १ सिलुवाको आयोजनामा आठौँ मण्डली कप १०८१ हुन लागेको क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको हो।
सिलुवा स्थित मण्डली खेल मैदानमा यही कात्तिक २१ देखि २४ गतेसम्म खेल सञ्चालन हुनेछ।
पुरुष भलिबलतर्फ प्रथम हुनेले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टिमलाई कप, मेडल र प्रमाणपत्रसमेत दिइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार महिला भलिबल प्रतियोगिता पनि हुनेछ। महिला तर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद र कपका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ।
पुरुष भलिबल तर्फ ६ टिम र महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुने क्लबका सचिव कृष्णप्रसाद पंगेनीले बताउनु भयो।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी पनि समावेश हुनेछन्। प्रतियोगितामा सहभागी हुने क्लबले खेलाडी किनेर पनि ल्याउन सक्नेछन्। देशका विभिन्न ठाउँबाट राष्ट्रिय खेलाडी समेत सम्पर्कमा आएको आयोजकले जनाएको छ ।
यस ठाँउको धार्मिक, सांस्कृतिक प्राकृतिक सौन्दर्य र पर्यटकीय हिसाबले प्रचार प्रसार गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ।
प्रतियोगितामा करिब १५ लाख रुपैयाँ बरावरको खर्च हुने अनुमान गरेको छ। खर्च पूर्वखोला गाउँपालिका र पाल्पाबाट रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्ति सम्मिलित संघसंस्थाले सहयोग गर्ने बताइएको छ।
यसअघि पनि क्लबले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सहभागी गराएर विभिन्न प्रतियोगिता सप्पन्न गरिसकेको छ।













