पाल्पा ।
पाल्पाका किसानको मुख्य समस्या अहिले बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि ठूलाे समस्या बाँदर आतङ्क भएकाे यहाँका किसानले बताएका छन् । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।
बाली लगाए पनि बाँदरबाट बचाउन नसकिए पछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको तानसेन ७ का तुल्सा पुरीले बताउनुभयो ।
'हामी किसानको मुख्य समस्या नै बाँदर बनेको छ', उहाँले भन्नुभयो, 'बाँदर प्रभावित क्षेत्रमा मल बीउभन्दा ठूलो समस्या यही हो । एक घण्टामात्र बाँदर बालीमा पस्यो भने वर्षभरि खाने अन्न सखाप पार्छ । त्यही भएर जमिन बाँझो छाड्नु हाम्रो बाध्यता बनेको छ ।'
पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको तानसेन ८ का गोबिन्द पाण्डेयले बताउनुभयो । बाँदरको हैरानीका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
'बाँदरले खेतबारीमा अन्न पाक्न दिँदैन', उहाँले भन्नुभयो, 'जो–कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।'
बाँदरले पाल्पाका अधिकास ठाउँमा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको बगनासकाली गाउँपालिका २ का स्थानीय पवित्रा मुडवरिले बताउनुभयो । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर वैकल्पिक खेती गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उहाँले जानकारी दिनुभयो ।
'बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ', रिब्दिकोट का शिव भुसालले भन्नुभयो 'वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।'
बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भुसालले बताउनुभयो ।
'बाँदरमा अटेरीपना बढेको छ । बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पनि नभाग्ने अवस्था छ', उहाँले भन्नुभयो, 'बाँदरकाे हुललाई बस्तीबाट धपाउनै मुस्किल छ । वर्ष दिन खाने अन्नबाली छिनभरमा सक्छ । यही अवस्था रहे किसानले खेती गरेर खाने अवस्था छैन ।' प्रायजसाे किसानको मुख्य समस्यारूपमा रहेको बाँदर आतङ्क नियन्त्रणमा स्थानीय सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने किसान बताउछन् ।













