१० भदौ,पाल्पा
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । प्रत्यक वर्ष कृष्ण अष्टमीका दिन मनाईन्छ। भगवान श्री कृष्णको जन्म भएको दिनको सम्झनामा आज देश भरका कृष्ण मन्दिरमा पुजा आराधना गरिन्छ ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ ।
आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ।
श्री कृष्णको कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू -लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई र्आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ ।
कृष्णका कुरा गर्दा मीरालाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।
श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्
अर्थात्ः
जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।