पाल्पा
रणउजीरेश्वरी भगवतीको जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा आउने निश्चित भएको छ ।
पाल्पा जिल्लाका संघीय सांसद ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्यको पहलमा राष्ट्रपति पौडेल भगवतीको खट्यात्रामा सरिक हुन पाल्पा आउन लाग्नुभएको हो । खट्यात्रामा राष्ट्रप्रमुखको उपस्थिति निश्चित भएपछि पाल्पालीहरु खुसी भएका छन् । पछिल्लो समय राष्ट्रिय पर्वका रुपमा भगवती जात्रालाई मनाउनु पर्ने आवाज उठिरहेको थियो ।
सांसदद्धय गैरे र आचार्यले रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिसंगको समन्यवमा भदौ २ गते शितल निवास पुगेर औपचारिक रुपमा राष्ट्रपति पौडेललाई भगवतीको खट्यात्राको निमन्त्रणा गर्नुभएको थियो । खट्यात्राको गरिमा बढाउन र उत्सबलाई राष्ट्रिय पर्वका रुपमा सूचीकरण गर्ने काममा सहजीकरणका लागि समेत उहाँहरुले अनुरोध गर्नुभएको थियो ।
यस वर्ष २ सय ५ औं खट्यात्रा निकालीदै छ । नेपाल–अंग्रेज युद्धको विजय उत्सवका रुपमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने भगवती जात्रा यस वर्ष भदौ ११ गते परेको छ । जितगढीमा भएको नेपाल अंग्रेज युद्धमा अंग्रेज सेनालाई हराएपछि विजयउत्सवका रूपमा सुरू भएको पाल्पाको भगवती रथयात्रा दुई सय ५ वर्षदेखि नियमित हुदै आएको मन्दिरका अध्यक्ष जानकारी दिनुभयो।
पाल्पाको तानसेनमा हरेक वर्ष कृष्ण जन्माष्टमीमा जागाराम बसी भोलीपल्ट भाद्र कृष्ण नवमीका दिन निकालीदै आएको छ । भगवती माताको भाकल गरी अंग्रेज सेनासँग युद्ध लड्न गएका उजिर सिंह थापाको नेतृत्वको सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको थियो ।
थापाले महिषासुर मर्दिनी भगवतीको तीनतले मन्दिर वि.स. १८७२ मा निर्माण थालनी गरेका थिए । भगवती मूर्तिसँगै महिषासूर मर्दिनीको मूर्ति स्थापना भएपछि वि.स. १८७७ देखि विजयउत्सवका रूपमा हरेक वर्ष भगगतीको खट्यात्रा निकाल्न सुरू भएको पाइन्छ ।











