सुमित्रा कंडेल, पाल्पा
वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न ५ दिने मेलमिलापसम्बन्धी उच्च तालिम तानसेनमा सुरु भएको छ । तानसेन नगरपालिकाको न्यायिक समितिले १४ वटै वडाका २७ जना प्रशिक्षार्थीलाई आजदेखि तालिम दिन सुरु गरेको हो ।
यसअघि पनि नगरपालिकाले मेलमिलापसम्बन्धी उच्च तालिम सञ्चालन गरिसकेको छ । तालिमप्राप्त मेलमिलापकर्ता वडामा खोलिएको मेलमिलाप केन्द्रमा क्रियाशील छन् । स्थानीय स्तरमा उठेका विवाद वडामा नै समाधान गर्नका लागि नगरले प्रत्येक वडामा मेलमिलाप केन्द्र सञ्चालन गरेकोे छ।
तालिमको उद्घाटन गर्नुहुँदै तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीले यो तालिम अन्य तालिमभन्दा पृथक् भएको बताउनुभयो । विगतका तालिममा छुटेका मेलमिलापकर्तालाइ छनोट गरीएको बताउनुभयो। विवादरहित समाज निर्माणका लागि यो तालिम आवश्यक भएको बताउदै वडामा उठेका विवाद समाधान गर्न यो तालिमपछि व्यक्ति समक्ष हुने उहाँको दाबी छ । वडाका विवाद वडाकै प्रशिक्षित मेलमिलापकर्तामार्फत गराउँदा विवाद समाधान प्रभावकारी र छिटो हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले मेलमिलाप विवादको वैकल्पिक समाधान भएको बताउनुभयो । उहाँले मेलमिलाप गर्नु निकै कठिन भएको बताउदै स्थानिय सरकार संचालन ऐनले दिएका ११ कानुनको परिधिभित्र रहेर विवादका दुवै पक्षलाई आत्मसम्मानको अनुभव गराएर मेलमिलाप गर्न अनुरोध गर्नुभयो ।
प्रमुख प्रशिक्षक त्रिपुरा गिरीले यो तालिम अन्य तालिमभन्दा पृथक् भएको बताउनुभयो । उहाँले सीप र जानकारीमूलक यो तालिमले व्यक्तिलाई दक्ष बनाउँनुका साथ चेन मोडलमा तालिम सञ्चालन हुने हुदा एउटा कक्षासँग अर्को अन्तरसम्बन्धित भएकोले कुनै पनि कक्षा नछुटाइ उपस्थिती हुन अनुरोध गर्नुभयो ।’’
कार्यक्रममा द एशिया फाउन्डेशनका लुम्बिनी प्रदेश संयोजक चुरामणी पोखरेलले मेलमिलापकर्तालाई लक्ष्यित गरी तालिम आयोजना गरीएको बताउनुभयो।तालिममा सकृय रुपमा सहभागि भइ सिकेका कुरा आफ्नो वडा,टोलमा हुने विवादलाइ यस तालिममार्फत न्याय हुने गरी विवाद मेलमिलाप गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
तानसेन नगरपालिकाका न्यायिक समिती सदस्य सबिता भट्टराईले उपस्थित सबैलाइ स्वागत गर्दै मेलमिलापबाट समस्याको समाधान गराउँदा दुवै पक्षलाई जितको महसुस हुने गरी कार्यसम्पादन गर्दै आएको बताउनुभयो । विवाद समाधानका लागि यो तालिम उपयोगी हुने भएकोले १४ वटै वडाका मेलमिलापकर्तालाई तालिममा सहभागि गराएर तालिम सुरु गरिएको उहाँको भनाइ छ ।
कार्यक्रमको संचालन तानसेन नगरपालिकाका महिला बालबालिका शाखाका चिना न्यौपानेले गर्नुभएको थियो।













