३१ असार, चितवन
चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार पहिराले बगाएर बेपत्ता भएका यात्रुमध्ये १३ जनाको शव भेटिएको छ । नवलपरासीको बर्दघाट–सुस्तापूर्वमा नौ जनाको, चितवनमा तीन जना र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको हो ।
नवलपुरमा मात्रै हालसम्म नौ वटा शव भेटिएका छन् । तीमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको छ । सोमबार मात्रै चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने प्रहरीको भनाई छ ।
हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने बताईएको छ । सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । दुवै बसहरु भने अहिलेसम्म भेटिएका छैनन् ।