३१ असार, काठमाडौं । नेपालको नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिनुभएको हो । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनुभएको थियो ।
प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।
केपी शर्मा ओली, प्रधानमन्त्री, प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्री नियुक्त हुनुभएको छ । त्यसैगरी विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय, रमेश लेखक, गृह मन्त्री, शरतसिंह भण्डारी, श्रम तथा रोजगार मन्त्री, आरजु राणा देउवा, परराष्ट्र मन्त्री, नवलकिशोर शाह सुडी, महिला बालबालिका, बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री ओलीको कार्यकालका अन्य मन्त्रीहरुमा देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरी, युवा तथा खेलकुद, प्रदीप यादव, खानेपानी, प्रदीप पौडेल, स्वास्थ्य, अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे, पर्यटन, रामनाथ अधिकारी, कृषि, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई, रक्षा, दीपक खड्का, जलस्रोत तथा ऊर्जा, राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य, र ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।











