रामपुर - रामपुर नगरपालिका लाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्रका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएको सुनिश्चित भएपछि बुधबार औपचारिक घोषणा गरिएको हो ।
रामपुर घोषणा भएसँगै पाल्पा जिल्ला का नौ वटा पालिका पूर्णखोप एवं संस्थागत प्रसुति सेवायुक्त घोषणा भएका छन् । रामपुरमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल ले नागरिकको स्वास्थ्य नै दिगो विकासको प्रमुख आधार भएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र विकासको सूचक नभएको उल्लेख गर्दै पूर्ण खोप कार्यक्रमले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा ले स्वास्थ्य र शिक्षामा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार भएको बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रका पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । नगरभित्र रहेका १६ वटा स्वास्थ्य संस्थाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट ४५ जना कर्मचारी व्यवस्थापन गर्दै आएको उहाँको भनाइ थियो ।
उपप्रमुख बालकुमारी थापा ले स्वस्थ आमा र स्वस्थ बालबालिकाका लागि खोप तथा संस्थागत प्रसुतिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।
नगर प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष कपिल बहादुर खाँण ले स्थानीय तह गठनपछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउनुभयो । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको सक्रियताले रामपुरलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल ले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्मरण गराउँदै अब पाल्पालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तिनाउ गाउँपालिका घोषणा हुन बाँकी रहेको छ ।
उहाँले संघीय संरचना कार्यान्वयनपछि स्थानीय तहको पहलमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै २०७२/०७३ सम्म १७ प्रतिशत रहेको होम डेलिभरी अहिले शून्यमा झार्न सफल भएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यौपाने, रामपुर अस्पतालका निमित्त मेसु डा. स्मृति गौतम तथा गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेख ले खोप अभियान, मातृ तथा शिशु स्वास्थ्य सुधार र स्वास्थ्य पूर्वाधार विकासका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा उमेर हदका कारण महिला स्वास्थ्य स्वयंसेविका मिठ्ठु कुमारी मल्ल र सीतादेवी श्रेष्ठ लाई सम्मानसहित विदाइ गरिएको थियो ।
रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे का अनुसार चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका ५ सय ५१ तथा १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ७ सय ९२ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
वरिष्ठ नर्सिङ अधिकृत पुनम धिताल ले गत आर्थिक वर्षमा नगरपालिकामा सुत्केरी भएका ५ सय २२ जना महिलामध्ये शतप्रतिशतले स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार ९० प्रतिशत गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराएका छन् भने ९१.२६ प्रतिशत महिलाले प्रसुति पश्चात स्वास्थ्य जाँच गराएका छन् ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ नर्सिङ अधिकृत पुनम धितालको स्वागत तथा जनस्वास्थ्य अधिकृत पुनम जिसी को सञ्चालनमा भएको थियो । कार्यक्रममा नगरभित्रका १० वटै वडालाई समेत पूर्णखोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता घोषणा गरिएको थियो ।













