विष्णु घिमिरे
स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती कार्यक्रम परीक्षणको रुपमा सुरु भएको छ । गाउँपालिकाको वडा नं. २ कोटाकोटमा उन्नत जातको मेवाको व्यवसायिक खेतीको परीक्षण सुरु गरिएको हो । यहाँका ४० बढी घरहरुमा ५ सय मेवाका विरुवा वितरण गरिएको हो । रेड लेडी जातका विरुवा वितरण गरी मेवाको पकेट कार्यक्रम सुरु गर्न लागेको हो ।
विरुवा वितरण कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले परम्परागत मेवा खेती गर्दै आएका कृषकहरुलाई व्यवसायिक बनाउन लागिएको बताउनुभयो । गाउँपालिकामा पोषण कार्यक्रम समेत लागु भएको उल्लेख गर्दै अध्यक्ष थापाले मेवा खेतीले आम्दानी संगै पोष्टिक तत्व समेत प्रदान गर्ने भएकोले गाउँपालिकाको पोषण कार्यक्रमलाई समेत मद्यत पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले विभिन्न वडाहरुमा कृषिको कार्यक्रम सुरु गरिएको बताउदै वडा नं. २ लाई मेवाखेतीको लागि छनौट गरिएको बताउनुभयो । हेफर ईन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेयले कृषकहरुलाई आत्मनिर्भर बन्दै आम्दानी बृद्धी गर्नका लागि गाउँपालिकासंग साझेदारी कार्यक्रम गरिएको बताउदै, बाख्रा, बंगुर, दुध, तरकारी लगायतका उपजहरुमा व्यवसायिक उत्पादनको लागि काम गरिएको बताउनुभयो। कालीगण्डकी गाउँपालिका र हेफर परियोजना नेपालको साझेदारीमा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहजिकरणमा कालीगण्डकी कृषि तथा पशु विकास परियोजना संचालन भएको छ ।
परियोजनाले गाउँपालिकालाई गेडागुडी, दुध, बाख्रा तथा बंगुर लगायतका उत्पादनहरुमा आत्मनिर्भर बनाउने कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न वडाहरुमा समूहहरु गठन गरी समूह व्यवस्थापन, कृषि तथा पशुपालनका तालिम, आधारशिला तालिम, विउविजन वितरण र प्राविधिक सहयोगको कार्यहरु गर्दै आएको छ । मेवाको विरुवा वितरण कार्यक्रममा वडा नंं २ का वडाअध्यक्ष खगिसरा आले, गाउँपालिकाका कृषि शाखा प्रमुख होम प्रसाद श्रेष्ठ, परियोजना संयोजक दिपक विश्वकर्मा, कृषक विष्णु पाण्डे लगायतले मेवाको परीक्षण गर्न लागिएको बताउदै एक हजार विरुवा लगाईने बताउनुभयो । कार्यक्रममा माटोको उपचार विधी, फंगस लगायतका रोगहरुबाट बचाउने तरिका लगायतका विधीहरु कृषकहरुलाई सिकाइएको थियो । कार्यक्रम वडाअध्यक्ष खगिसरा आलेको अध्यक्षता र परियोजनाका सामाजिक परिचालक मुना थापाको संचालनमा भएको थियो ।












