विष्णुप्रसाद घिमिरे पाल्पा । ८, असार
तानसेन नगरपालिका जिल्ला सदरमुकाम भएपनि यहाँका १४ वडा मध्ये १० वटा वडाहरु ग्रामिण क्षेत्रमा छन् । यहाँका अधिकांश नागरिकको मुख्य पेषा कृषि हो । नगरपालिकाले पनि कृषिलाई मुख्य नारामा समेटेको छ । भौगोलिक क्षेत्रफल बढेपनि कृषिको लगानी भने खुम्चिदै गएको छ ।
तानसेनको माडी फाँट, अर्गली फाँट, छेर्लुङ्ग जस्ता मुख्य फाँटहरु अन्न भण्डारका रुपमा परिचित छन् । तर नगरपालिकाले यी क्षेत्रमा कृषि कार्यको लागि वजेट भने नगन्य विनियोजन गर्ने गरेको छ । चालु आर्थिक वर्ष २०८०।८१ मा कृषि क्षेत्रको लागि ५ लाख र पशुसेवाको लागि ५ लाख गरी १० लाख रुपैया मात्र विनियोजन भई कार्यान्वयन भएको छ । यो आर्थिक वर्षको लागि नगरपालिकाको कुल वजेट १ अर्व माथी थियो । कुल वजेटलाई हेर्दा १ प्रतिशत पनि कृषि क्षेत्रको लागि रकम विनियोजन भएको देखिदैन । गएको २०७९।८० मा पनि तानसेनले कृषि र पशुपालनको लागि उत्तिनै वजेट विनियोजन गरेको थियो । जवकी २ वर्ष अगाडी सम्म तत्कालिन मेयर अशोक कुमार शाहीको कार्यकालका पछिल्ला २ वर्षमा प्रतिवर्ष ६० लाखको दरले विनियोजन भई कार्यक्रम संचालन भएको थियो । तानसेन नगरपालिकाको दोश्रो कार्यकालमा कृषि क्षेत्रको वजेट कटौती भएको देखिन्छ ।
यसरी नगरपालिकाबाट कृषिको वजेट न्यून विनियोजन भएपछि कृषकहरु उपेक्षा र अपहेलित भएको महसुस गर्न थालेका छन् । विगतमा कृषिबाटै आर्थिक प्रगतीका लागि सपना देखेका कृषकहरु कृषि क्षेत्रमा खुम्चिएका छन् । बाख्रा, तरकारी, दुध जस्ता उत्पादनहरुमा आत्मनिर्भर बनेको तानसेन नगरपालिकाले वजेट विनियोजन नगरेपछी यी क्षेत्रमा परनिर्भर वन्ने अवस्था आउन लागेको कृषक विनिसरा पाण्डेले बताउनुभयो । तानसेन ८ का वडा अध्यक्ष सोमनाथ अर्यालले गएको वर्ष ६ लाख रुपैया वडाबाटै कृषिका लागि विनियोजन गरी काम गर्नुभयो । जवकी अर्यालको वडामा गएको वर्ष ५५ लाखको मात्रै वजेट सिलिङ्ग थियो । हाम्रो त कृषि नै मुख्य पेषा हो, कृषकलाई सहयोग पुग्ने काम नगरी हुदैन । अर्यालले भन्नुभयो, नगरपालिकाबाट वजेट नआएपनि वडाबाटै गर्नुपरेको छ ।
यता तानसेन नगरपालिकाको आगामी वर्षका लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र वजेटले पनि कृषकहरुलाई उत्साही हुनेखालको वजेट विनियोजन गरेको छैन् । आर्थिक विकासको मुख्य मेरुदण्ड मानिएको कृषिलाई वजेटमा उपेक्षा गरिएको छ । नीति तथा कार्यक्रममा कृषक परिचय पत्र, शित भण्डार, जंगली जनावर नियन्त्रण, अदुवा भण्डारण, कृषि उपज संकलन र वजारीकरण सम्मका कृयाकलापहरु समेटेको छ । तर वजेटमा भने कृषि, पर्यटन, सहकारी देखी आर्थिक करिडोरको बाटो निर्माण सम्मको लागि ८२ लाख विनियोजन भएको देखिन्छ । कृषि क्षेत्र यो पटकपनि उपेक्षामै परेको देखिएको छ ।
तानसेन नगरपालिकाका प्रवत्ता यादव सिं कार्कीले पछिल्ला दुई वर्षमा कृषिको लागि वजेट न्यून विनियोजन भएको स्वीकार्दै यो पटक वढाइएको दावी गर्नुभयो । उहाँका अनुसार केही वडाहरुबाट पनि कृषिको लागि वजेट विनियोजन भएकोले नगरपालिकाबाट न्यून विनियोजन गरिएको थियो । आगामी वर्षको लागि वजेटको आकार वढाइएको उल्लेख गर्नुभयो ।
तानसेन दुध, बाख्रा, बंगुर, घाँसको श्रोत केन्द्र लगायतका क्षेत्रहरुमा आत्मनिर्भर मात्रै होईन निर्यात समेत हुदै आएको पालिका हो । कृषि सम्बन्धी काम गर्ने विभिन्न साझेदार संस्थाहरुले यहाँ काम गरेका थिए । कोरोना संक्रमणका समयमा कृषि एम्बुलेन्स मार्फत घरघरमा तानसेनकै तरकारी वजारीकरण गरेर देशमै ख्याती कमाएको थियो । कृषकहरुले आफ्नै लगानीमा लाखौको लगानीमा फर्महरु संचालन गर्दै आएका थिए । कोरोना संक्रमण सुरु भएपछी विभिन्न मुलुकहरुबाट फर्किएका ४ सय बढी युवाहरु कृषिमा आवद्ध भएका थिए । पछिल्ला वर्षहरुमा कृषि क्षेत्रको वजेट र कार्यक्रम खुम्चिएपछी कृषि कर्म गरी आत्मनिर्भर हुन खोज्ने कृषकहरु नै अन्योलमा परेका छन् ।












