दाङ — दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा ५ जनाको निसास्सिएर ज्यान गएको छ । उक्त आगलागीमा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।
तुलसीपुर उपमहानगरपालिका —५‘ङ’ लाइनस्थित उक्त जुत्ता-चप्पल पसलमा गए शुक्रबार बिहान पौने दुई बजेतिर आगलागी भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताएका छन् ।
मृत्यु हुनेमा करिब ६ वर्षीय अबिददिन अली, करिब १४ वर्षीया सजिता खातुन, करिब १५ वर्षीय हसन बकस, करिब १५ वर्षीय मसिन बकस र करिब ४२ वर्षीय नजरदिन अली रहेका छन् ।
बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।
तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।













