मानव सेवा नै सर्वोत्कृष्ट धर्म
चैत १८,पाल्पा
पाल्पा,शनिबार परमानन्द बाल–वृद्ध कल्याण संघ पाल्पाको स्थानीयतह भेला तथा प्रथम अधिवेशन तानसेनमा भएको छ । मानव सेवा भन्दा ठूलो धर्म अरु केही पनि नभएको लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले बताउनु भएको हो । असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै रानाले मानव सेवा भन्दा ठूलो धर्म केही नभएको बताउनु भयो ।
मन्त्री वीरबहादुर रानाले मानवताका लागि गरिएका अभियानले ठूलो धर्म कमाएको भन्दै मानव सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रिय पात्र बन्ने बताउनु भयो । परमानन्द बाल–वृद्ध कल्याण संघले चालेको मानवता प्रवद्र्धनको अभियानलाई सबैले साथ दिनुपर्नेमा समेत सांसद रानाले जोड दिनु भयो ।
दुःखी,गरिब,असाहय अशक्त ब्यक्तिहरुलाई सहयोग गर्नु नै मुख्य धर्म हो,वृद्धवृद्धाहरुलाई खुसी राख्न सकियो भने परिवार सुखी र समृद्ध बन्ने धारणा रानाले व्यक्त गर्नु भयो । व्यापारीहरुले दिनभरी व्यापार गरेर साँझ पैसा गनेर आनन्द लिन्छन् तर राजनीति गर्नेहरुलाई दिनभर गरेका कामले सार्थकता प्राप्त गरेन भने रातीमा आनन्दले निन्द्रा लाग्दैन रानाले बताउनु भयो ।
परमानन्द बाल–वृद्ध कल्याण संघका संस्थापक अध्यक्ष हिराधर आचार्यले असहाय बालबालिका र वृद्धवृद्धाहरुको उत्थान गर्ने उद्देश्यले संघ स्थापना गरिएको बताउनु भयो । २०७० सालमा स्थापना भएको संस्थाले असहाय बालबालिका र ६० वर्ष भन्दा माथिका नागरिकका लागि असल शिक्षा दिर्दै आएको संस्थाका अध्यक्ष शिवप्रसाद देवकोटाले बताउनु भयो ।
समाजमा रहेका असहाय बालबालिका र जेष्ठ नागरिकहरुलाई घरमै कसरी खुसी राख्न सकिन्छ भन्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको देवकोटाले बताउनु भयो । बाबु आमा वृद्धआश्रम जान नपरोस् भनेर छोराछोरी र जेष्ठ नागरिकसँग बसेर आवश्यक शिक्षा, सल्लाह र परामर्श दिर्दै आएको समेत देवकोटाले बताउनु भयो । उँहाका अनुसार संघले जेष्ठ नागरिकलाई भजन किर्तन गराउने,मनोरञ्जन प्रदान गर्ने र बालबालिकाहरुलाई बाबु आमाको सेवा सत्कार गर्नु पर्छ भन्ने शिक्षा दिन विद्यालय तहमा पुगेर बक्तृत्वकला,हाजिरीजवाफ जस्ता कार्यक्रम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर रावल,तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदीप खनाल,समाजसेवी चित्र वलीराम सुवाल,तानसेन–४ की वडा सदस्य सीता बस्नेत,तानसेन –२ की वडा सदस्य मञ्जु रणपाल लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो । संघका सहसचिव रमेशबहादुर बोहोराको सञ्चालनमा कार्यक्रम भएको थियो ।












