चैत्र १०, शनिबार
शनिबार एक कार्यक्रमका विच तानसेन नगरपालिका वडा नं. २ ले वडा भित्रका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । तानसेन वडा नंं. २ का टोल विकास संंस्थाहरूको आयोजनामा जेष्ठ नागरिकहरूलाई सम्मान तथा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा भित्रका ८० बर्ष भन्दा माथि उमेर समुहका ५० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई दोसल्ला,प्रमाणपत्र र थर्मस समेत प्रदान गरि सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरि जेष्ठ नागरिकहरु गठन गर्ने र नगरपालिकाबाट निश्चित बजेट बिनियोजन गर्ने जानकारी दिनुभयो । नगरपालिकाले छिटै जेष्ठ नागरिकहरूको मनोभावनालाई आत्मसाथ गरि प्रत्येक बर्ष यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिने समेत बताउनुभयो । सम्पूर्ण टोल विकास सस्थाको तर्फबाट बढिज्ञानटोल विकास संस्थाका सल्लाहकार रमा पन्तले वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखी प्रशंसनिय कार्य गरेको बताउनुभयो । वडा न २ मा जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक विश्राम पार्क निर्माण गर्न आवश्यक रहेको बताउदै यस तर्फ वडा कार्यालय र नगरपालिकाले ध्यान दिन जरुरी रहेको पन्तले बताउनु भयो।
कार्यक्रममा तानसेन वडा नं. २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले वडाले ८० बर्ष माथिका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको बताउनु भयो । वडाले जेष्ठ नागरिकहरूको सुविधालाई मध्ये नजर गरि घरदैलोमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको श्रेष्ठले बताउनु भयो ।कार्यक्रम बडिज्ञान टोल विकास संस्था (ख) कि अध्यक्ष सन्तोषी महर्जनले सञ्चालन र वडा नं. २ का १० वटै टोल विकास संस्थाकी संयोजक कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरूलाई नेपाल परिवार नियोजनका संघका प्रमुख शोभाकान्त न्यौपोनेले प्रशिक्षण दिनुभएको थियो ।












