पाल्पा, तानसेन नगरपालिका काे बेलगैरा ,चुच्चेबारी र बाँसटारी जाेड्ने पुल निर्माण कार्य सुरु गरिएको छ ।
आर्थिक वर्ष २०७९/०८० काे माग आधारित आन्तरिक शिर्षक बाट रू.४,४९०००/-मा तानसेन नगरपालिका वडा नं.१० र वडा नं.७ लाई जाेड्नेगरि पुल निर्माणकाे काम सुरु गरिएको हाे ।तानसेन नगरपालिका-१० नं. वडा अध्यक्ष हिमलाल पंगेनीले यस वर्षको विनियोजित रकम मध्ये पुल निर्माणकाे काम सुरु गरेको भएपनि अहिले पुल निर्माणकाे काम नसकिएकोले तत्कालै तानसेन नगरपालिकासंग समन्वय गरि अधुराे रहेको पुल निर्माण कार्यलाई अगाडि बढाउने बताउँनुभयाे। उहाँले विगतमा यसक्षेत्रमा बाँसको फड्के अस्थाई पुल बनाएर आवतजावत गर्दै आएका स्थानीय बासिन्दाहरूलाई नयाँ पुलकाे निर्माणले आउँजाउमा सहज समेत हुने बताउँनुभयाे।
तानसेन नगरपालिका वडा नं.७ र १०काे साझा पुलकाे रूपमा रहेको पुल निर्माणलाई दुबै वडाबाट समन्वयात्मक रूपमा व्यवस्थापन गर्दै सम्पन्न गर्नका लागि यसै आर्थिक वर्षमा थप बजेट रकम मागगर्ने र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वडाअध्यक्षद्वारा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठसंग थप बजेटका लागि पहल गरेको समेत वडाअध्यक्ष पंगेनीले बताउँनुभयो ।













