२०५६ चैत २३ देखि नियमित प्रसारण सुरु गरेको सामुदायिक रेडियो मदनपोखराले २५औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने, समाजलाई सकारात्मक सन्देश दिने, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने गरी आप्mनो प्रशारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको हो ।
शुक्रवार तानसेनमा पत्रकार भेटघाट कार्यक्रम गरी रेडियोले रजत जयन्ती मनाउने बारे जानकारी गराएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले आज देखि २०८० चैत्र २३ गते सम्म आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिएका हुन् ।
रजत जयन्तीको अवसरमा लोकतान्त्रिक संस्कार निर्माणमा सञ्चारको भुमिका बहस, समाजबाट पछाडी परेका असहाय, गरिव दुःखीलाई निःशुल्क भोजनदान, नेपाली समाजको सभ्यता संस्कृतिको बारेमा बहस, लोकवाजा तथा लोकधुनको रेडियोबाट रेकडिङ्ग, जीवन्त सम्म अभिलेख राख्ने र प्रत्यक्ष प्रशारणमार्फत जनमासमा सुनाउने, पुर्नमिलन कार्यक्रम, रक्तदाताहरुको नाम लिष्ट तयार पार्ने, स्थानीय पालिकाहरुबिच बहस सञ्चालन गर्ने, रेडियोका अहिलेसम्मका फोटो तथा भिडियोहरु पर्दशन गर्ने जस्ता कार्यक्रमहरुको नमुना तयार पारिएको अध्यक्ष जिसीले जानकारी गराएका हुन् । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले रेडियोले स्तरीय कार्यक्रमहरु दिन सकेमात्र आफ्ना स्रोताहरु पनि वढाउन सक्ने सुझाव राख्दै रजत जयन्तीको शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकार किरण कौशल, देव पचभैया, मिलन विश्वकर्मा, यज्ञमुर्ति तिमिल्सीना, कृष्ण पोखरेल लगायतले रेडियोले गर्ने विविध कार्यक्रमहरु परिमार्जन गरी समय, परिस्थीती अनुसार प्रशारण गर्नुपर्ने सुझाव दिएका थिए ।
पत्रकारहरुको जिज्ञासा मेटाउदै स्थापनाकाल देखि रेडियोले हालसम्म खेलेको भूमिका, पछिल्लो अवस्था, रेडियोको भविष्य, आर्थिक अवस्थाको बारेमा रेडियोका उपाध्यक्ष एवं कार्यकारी निर्देशक गुणाकर अर्यालले जानकारी गराएका थिए । रेडियोले पत्रकार सम्मेलनबाट आएका सुझाव, आजीवन सदस्यहरुबाट आएका सुझावका आधारमा कार्यक्रमहरु तय गर्ने जनाएको छ ।
कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षता, सचिव राजेशकुमार अर्यालको स्वागत, रेडियोकर्मी रिमा सोमैको सञ्चालनमा सम्पन्न भएको थियो ।












