नवलपरासी - पश्चिम नवलपरासीमा लुटेराहरुको एक समूहले सुनचाँदी व्यवसायीमाथि एकासी गोली प्रहार गरेका छन् ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट–१६ निवासी ६५ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।
सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोली प्रहारबाट घाइते विश्वकर्माको तत्काल बर्दघाटको चिसापानी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल स्थित तिनाउ अस्पतालमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । उनको पाखुरामा गोली लागेको छ । लुट्ने उद्देश्यले गोली प्रहार गरेको प्रहरीले जनाए पनि सुनचाँदी व्यवसायी विश्वकर्माले गरगहनासँगै नल्याएका कारण लुटेराहरुले उनलाई लुट्न नपाएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।
विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेका थिए । उक्त स्कुटर घटनास्थलदेखि ४ किलोमिटर पर फेला परेको प्रहरीले जनाएको छ ।













