पाल्पा-रिब्दीकोट गाउँपालिकामा पाँचाै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँपालिकाको वडा नं. ५ मा नयाँटोलामा रहेको लक्ष्मी आधारभुत विद्यालयमा सुरु भएको हो ।माघ ७ देखि ९ गते सम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलारमा घर्तीले विद्यालय तहदेखि नै खेल जगतलाई प्राथमिकतामा राखिएको हुँदा सक्षम विद्यार्थी र सक्षम खेलाडी उत्पादनमा स्थानीय स्तरमा हुने यस्ता प्रतियोगितले टेवा पुग्ने बताए । उनले स्कुले समयदेखि नै विद्यार्थीको चौतर्फी विकासका लागि राज्यले प्राथमिकतामा राखेर राष्ट्र प्रमुखको पदबाट राखिएको यस्तो प्रतियोगितामार्फत बालबालिकालाई अवसर प्रदान गर्ने तथा उनीहरुलाई किताबी ज्ञानसंगै शारीरिक र मानसिक ज्ञानको विकासका लागि राज्यले लगानी गरेको बताए । उनले अहिले वडा, पालिका, प्रदेश र संघीय सरकारबाट खेलकुदका लागि विभिन्न चरणमा बजेट विनियोजन भइ पूर्वाधारको विकास समेत भएको अवस्थामा खेलको माध्यममबाट पनि देशको नाम राख्ने कार्यमा लाग्न विद्यार्थीलाई अनुरोध गरे । पालिकाभित्रका जम्मा १२ विद्यालय सहभागी रहेको प्रतियोगितामा १२ विधाका लागि दुई सय ६३ छात्र तथा दुई सय २७ छात्र गरी कुल चार सय ९० विद्यार्थी सहभागी छन् । स्वर्ण, कास्य र रजत गरी २९ पदकका लागि प्रतियोगिता सुरु भएको छ । महिला, पुरुष भलिबल, हाइजम्प, लङ्जमप, एक सय, दुइ सय चार सय र ८ सय मिटरको दौड, रिले,ज्याव्लिङ्ग थ्रो लगायतका खेलहरु खेलाइने छ । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले खेलको माध्यमबाट पालिका हामीले जिल्ला र प्रदेश हुँदै केन्द्रको प्रतियोगितमा पनि सहभागिता जनाउन विद्यार्थीहरु सक्षम हुनुपर्ने बताउँदै सबै विद्यार्थीलाई शुभकामना व्यक्त गरे । उदघाटन कार्यक्रम पालिकाको शिक्षा शाखा प्रमुख मणी खनालको स्वागत लक्ष्मी आधारभुत विद्यालयका शिक्षक को संचालन र पालिकास्तरीय खेलकुद विकास समितिका संयोजक झपन्द्र पचभैयाको अध्यक्षता मा चलेको थियो ।










