पाल्पा- तिनाउ गाउँपालिकामा रहेकाे झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरेको फलामे पुल भाँचिएर दुई जना कामदार घाइते भएका छन् ।
फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएर तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










