पाल्पा-पाल्पा जिल्लाको पहाडी क्षेत्रका किसानहरु तेजपत्ताबाटै राम्राे आम्दानी गर्न थालेका छन। जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता पाल्पामा आम्दानीको स्रोत बनेको हो। परम्परागत प्रविधिलाई छोडेर आधुनिक कृषि प्रणाली अपनाउन थालेसँगै पाल्पाका किसानले व्यावसायिक रूपमै तेजपत्ता खेतीसमेत सुरु गरेको बताउँछन्।
पुर्वखाेला गाउँपालिका-२ झनक सिह ठाडाले विगतका वर्षमा मात्र ३० देखि ५० हजारको तेजपत्ता बिक्री गरेको बताउनुभयाे।‘पाखापखेरीमै बिना लगानी खेती हुने तेजपत्ताबाटै वार्षिक रुपमा झण्डै लाखौँ कमाउन सकिन्छ,’ उहाँले भन्नुभयाे, ‘गाँउमै आएका सडकले तेजपत्ता बिक्री गर्न सजिलो भएको छ।’ यसैगरी माथागढी गाउँपालिका-४ का टीका रेग्मीले वार्षिक लाखौं आम्दानी गरेको बताउनुभयाे । उहाँले भन्नभयाे, ‘बिक्रीको चिन्ता छैन, कतिपय व्यवसायीले पसलबाटै खरिद गर्ने गर्दछन। उहाँले मात्र आफ्नो बारीमा लगाएको तेजपातबाट ६-६ महिनामा झण्डै लाखौं रुपैयाँको आम्दानी लिने गरेको बताउनुभयाे। हुर्काउन अलिक समस्या पर्छ नत्र भने खासै झन्झट नहुने उहाँको भनाइ छ।
पानी, गोडेमेलमा त्यति धेरै ध्यान दिई राख्नु नपर्ने भएकाले व्यवसाय निकै सहज भएको उहाँले बताउनुभयो । जिल्लामा तेजपत्ताकाे उत्पादन हुँदै गएको छ। यसबाट किसानले सोचेभन्दा बढी आम्दानी हात पार्न सफल भएको बताउँछन। जिल्लाको निस्दी,तिनाउ,माथागढी,पुर्वखाेला,छहरा र रिब्दीकाेट लगायतका क्षेत्रमा तेजपत्ता खेती हुँदै आएको छ।यसवर्ष यतिबेला पात प्रतिकेजी ४५ र बोक्रा प्रतिकेजी १०५ रुपैयाँमा बिक्री भएको स्थानीय कृषक टीका रेग्मीले बताउनुभयो । जिल्लाको कुल खेति योग्य जमिनमध्ये ३० प्रतिशत जमिनमा तेजपातको खेति गरिन्छ ।
जिल्लामै यसको प्रशोधन केन्द्रको निर्माण भएको खण्डमा स्थानीय तहमा नै रोजगारको अवसरसंग आम्दानीको र विदेशी मुद्रा आर्जन गर्न सकिने थियो ।










