काठमाडौं, फागुन २६ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै राष्ट्रपतिलाई बुझाइने निर्वाचन प्रतिवेदनको तयारी सुरु गरेको जनाएको छ।
मंगलबार आयोगमा आयोजित विभिन्न निकायबाट काजमा खटिएका कर्मचारीहरूको बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल परिस्थितिका बाबजुद पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरे।
उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा ‘निर्वाचन हुन्छ र ?’ भन्ने प्रश्न समाजमा व्यापक रूपमा उठेको स्मरण गरे।
भण्डारीका अनुसार भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा अवस्था निकै पेचिलो बनेको थियो र निर्वाचन घोषणा भएको एक महिनासम्म राजनीतिक दलहरू एकै ठाउँमा बसेर संवाद गर्न सक्ने अवस्था समेत नरहेको बताए। “त्यस अवस्थामा आयोगले नै पहल गर्दै दलहरूलाई एकै ठाउँमा राखेर संवादको सुरुवात गराएको थियो,” उनले भने।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिले निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भई परिणाम सार्वजनिक गर्ने चरणमा पुगेको उल्लेख गर्दै अब राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए।
आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट आएका कर्मचारीहरूको सामूहिक टिमवर्क का कारण निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सम्भव भएको बताए।
उनका अनुसार देशभर रहेका २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्र मा सामान्य बाहेक कुनै ठूलो समस्या बिना मतदान सम्पन्न भएको हो।
निर्वाचनका लागि विभिन्न निकायबाट १४१ कर्मचारी काजमा आयोगमा खटिएको प्रशासन शाखा प्रमुख तथा सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। निर्वाचन सम्पन्न भएसँगै उनीहरूको काज फिर्ता प्रक्रिया सुरु गरिएको पनि उनले बताए।













