पाल्पा – जिल्ला अदालत पाल्पाको फैसला कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुखलाई सम्मान गरेको छ । आपराधिक घटना लगत्तै र अदालतको फैसलापछि पनि फैसला कार्यान्वयनमा सक्रिय भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्मालाई अदालतले सम्मान गरेको हो ।
पाल्पा प्रहरीले ६ महिनाको अवधिमा २३ फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टले जिल्ला बाल न्याय समितिको बैठकमा शर्मालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै प्रहरी प्रमुखलाई सम्मान गरिएको न्यायाधीश विष्टले बताउनुभयो । प्रहरी प्रमुख शर्माले फरार व्यक्तिहरूको कैद, जरिवाना र सरकारी बिगो असुलउपर गर्ने कार्यमा आफूहरुले उच्चतम सफलता प्राप्त गरेकोमा उच्च मूल्याङ्कन गरी सम्मान गरेकोमा जिल्ला अदालतलाई धन्यवाद ज्ञापन गर्नुभयो ।













