पाल्पा– रामपुर नगरपालिकाले कृषक तथा कृषि समुहलाई ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको विउ विजन वितरण गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमका विच तरकारीको बिउ वितरण गरेको हो ।
कृषकहरुलाई विउ वितरण गर्दैै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा विउ विजन वितरण गरेको बताउनुभयो । कृषकलाई व्यवसायीक र आत्मनिर्भर बनाउन प्रोत्सहानका लागि ५० प्रतिशत अनुदानमा विउ विजन वितरण गरेको उल्लेख गर्नुभयो । “व्यवसायीक कृषक बनिदिनुहोस नसके आफुलाई आवश्यक तरकारी आफै उत्पादन गर्नुहोस ” नगर प्रमुख थापाले भन्नुभयो – “बाहिरबाट आयात गरेको तरकारीमा विषदी प्रयोग हुने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । ” बाहिर निर्यात गर्ने गरि तरकारी उत्पादन नगरे पनि कम्तीमा नगरपालिका भित्र आवश्यक तरकारीको मागलाई परिपूर्ति हुने गरि उत्पादन गर्न आग्रह गर्नुभयो ।
कृषकको मागको आधारमा ६ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा , लौका , घिँरौला , तिते करेला ,टमाटर,भिण्डी , टनेबोडी , घ्यू सिमि जातका तरकारीको विउ विजन वितरण गरिएको कृषि जेटिए युवराज नेपालीले जानकारी दिनुभयो ।
यो कार्यक्रम अन्तर्गत १ सय ५४ जना कृषक तथा कृषि समुहलाई विउ विजन वितरण गरिने र पहिलो दिन ६० जना कृषकलाई विउ विजन वितरण गरिएको कृषि शाखाले जनाएको छ ।











