पाल्पा–जिल्लाका पालिकाहरूले प्रशासकीय भवन बनाउने कार्य तीव्र गतिमा अगाडि बढाएका छन् । जिल्लाका १० पालिकामध्ये प्रशासकीय भवन नभएका पाँच पालिका भवन बनाउने कार्यलाई तीव्रता दिएका छन । बगनासकाली, निस्दी, पूर्वखोला, माथागढी र रम्भा गाउँपालिकाले प्रशासकीय भवन बनाइरहेका छन् । हाल वडा कार्यालय तथा विद्यालयको भवनबाट पालिकाको सेवा दिइरहेका पालिकाले आफ्नै प्रशासकीय भवन बनाउन लागेका हुन।
जिल्लाको बगनासकाली गाउँपालिकाले पनि प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । बगनासकालीले हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको जनाएको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले आगामी वैशाखमा नयाँ भवनबाट सेवा दिने गरी काम भइरहेको बताउनुभयो । उहाँले प्रशासकीय भवन निर्माण गर्दा झन्डै नौ करोड रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।
माथागढी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । पालिकाका अध्यक्ष यमबहादुर चिदीले जग्गा प्राप्त भइसकेकाले छिट्टै भवन निर्माणका लागि माटो परिक्षण गरि सकेको जानकारी दिनुभयो ।
रम्भा गाउँपालिकाले पनि प्रशासकीय भवन बनाउने कामको थालनी गरेको छ । पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले यो वर्षदेखि पालिकाको भवन बनाउने कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि पालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद हुँदा ढिला भएको थियो, अब केन्द्रको टुङ्गो लागेपछि प्रशासकीय भवन बनाउने काम सुरु भएको छ ।” प्रशासकीय भवन बनाउन नसक्दा पालिकाले रकमादेवी आविको भवनबाट सेवा दिँदै आएको छ ।
निस्दी गाउँपालिकाले पाँच करोड २७ लाखमा प्रशासकीय भवन बनाउने कार्य गरिरहेको पालिकाका सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो । हालसम्म पालिकाको भवनको ५० प्रतिशत निर्माण सकिएको र चालु आर्थिक वर्षभित्र निर्माणको काम सकिने उहाँले बताउनुभयो ।
यस्तै पूर्वखोला गाउँपालिकाको प्रशासकीय भवनको ८० प्रतिशत काम सकिएको छ । पूर्वखोलाले छ करोड बढीमा प्रशासकीय भवन बनाइरहेको छ । चालु आ.वभित्र प्रशासकीय भवन निर्माण सकिने पालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।
जिल्लाका तिनाउ, रिब्दीकोट, रैनादेवीछहरा गाउँपालिकाले यसअघि नै प्रशासकीय भवन बनाइसकेका छन् । तानसेन र रामपुर नगरपालिकाको स्थानीय तह बन्नुअघि नै भवन बनिसकेको थियो ।











