पाल्पा– नेकपा एमाले तिनाउ गाउँपालिका–१ को दोस्रो अधिवेशन शनिबार कचलमा सम्पन्न भएको छ । अधिवेशनले ऐमान सिह चिदीको अध्यक्षतामा २९ सदस्यीय नयाँकमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षमा बिनिता उचै, सचिवमा अमर तरामु, उपसचिवहरुमा भिम कुमारी चिदी र किम बहादुर लाम्टाङ्गेलाई चयन गरेको छ । २१ जना सदस्यलाई गाउँ अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । अधिवेशनले नै खेमबहादुर बुचालाई वडा ईन्चार्जको रुपमा जिम्मेवारी दिएको छ । निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयुक्त सावित्रा गुरुङले सपथग्रहण, प्रमुख अतिथि दल बहादुर गुरुङले प्रमाण पत्र र विशिष्ट अतिथि झपिन्द्र रायमाझीले अबीरले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै एमाले तिनाउ इन्चार्ज दलबहादुर गुरुङले पार्टीलाई जनताका माझ स्थापित गर्न नेता, कार्यकर्ताहरु अग्रसर हुन पर्नेमा जोड दिए ।
यसैगरी लुम्बिनी प्रदेश, लेखा कमिटीका सदस्य झपिन्द्र रायमाझीले तिनाउ र रैनादेवी छहरालाई जोड्दै विकासमा एकाकार हुन अनुरोध गरे । उनले एमाले विकासवादी पार्टी भएकोले सदैव जनतासँग जोडिने बताए । एमाले नेता तथा तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष ओम बहादुर घर्ती मगरले एमाले श्रमजीवी जनताको पार्टी रहेको बताउँदै कचलको विकासमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गरे । नेकपा एमालेका जिल्ला नेता तथा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो पार्टीले जनपक्षीय काम गरिरहेको बताए ।
अधिवेशनमा तिनाउ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरी, वडा नम्बर १ का वडाध्यक्ष भुवान सिंह चिदी, वडा सदस्य यमबहादुर घर्ती लगायतले बोल्दै विकास निर्माण, पार्टीको गतिविधि र जनतासँगको सहकार्यका बारेमा जानकारी गराएका थिए ।











