नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थल लुम्बिनीमा पछिल्लो एक वर्षको अवधिमा पर्यटकहरूको आगमन बढेको छ। सन् २०२३ मा तेश्रो मुलुकबाट ७६ हजार २१० जना पर्यटक लुम्बिनी आएका छन्। यसअघि सन् २०१९ मा ११५ मुलुकबाट गरी एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए।
पाँच वर्ष अगाडिको तुलनामा २०२३ मा लुम्बिनी आएका तेश्रो मुलुकका पर्यटकहरूको संख्या झन्डै एकलाखले कमी भए पनि कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि यो संख्याले केही आशा जगाएको छ।
पछिल्लो १० वर्ष सन् २०१४ देखि यता लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकहरूको संख्या बढ्दै गएकोमा कोभिड १९ का कारण तीन वर्ष पर्यटकको आगमन ठप्प जस्तै बनेको थियो। कोभिड १९ पछि सन् २०२० मा ८३ मुलुकका ४५ हजार ३ सय २९ र सन् २०२१ मा ६८ मुलुकका जम्मा १ हजार १ सय ९७ पर्यटक लुम्बिनी आएका थिए।
यसअघि २०१४ देखि नै लुम्बिनीमा आउने तेस्रो मुलुक र पर्यटकहरूको संख्या बढ्दै गएको थियो। लुम्बिनी विकासकोषको तथ्यांकअनुसार सन् २०१४ मा ८२ मुलुकका १ लाख ३३ हजार ३०८ पर्यटक लुम्बिनी आएकोमा २०१५ मा ६८ मुलुकबाट १ लाख २९ हजार १८०, २०१६ मा ८१ मुलुकबाट १ लाख ३६ हजार २५३, २०१७ मा ८९ मुलुकबाट १ लाख ४५ हजार ८१४, २०१८ मा १०८ मुलुकबाट १ लाख ६९ हजार ९०४ हुँदै सन् २०१९ मा आइपुग्दा लुम्बिनी आउने पर्यटकको संख्या १ लाख ७४ हजार १५ पुगेको थियो भने पर्यटक आउने देशहरूको संख्या पनि १ सय १५ पुगेको थियो।
अघिल्लो वर्ष २०२२ भन्दा पर्यटकको संख्या बढे पनि पर्यटकहरू आउने मुलुकको संख्या भने घटेको छ। सन् २०२२ मा ९६ मुलुकका पर्यटक लुम्बिनी आएकोमा २०२३ मा ८५ मुलुकका मात्रै पर्यटक आएका छन्। पर्यटकहरू आउने मुलुकको संख्या सन् २०१९ मा भन्दा गतवर्ष ३० ले कमी हो।
२०२३ मा सबैभन्दा धेरै नोभेम्बरमा १६ हजार ४११ र अन्तिम डिसेम्बर महिनामा १३ हजार ४९९ पर्यटक लुम्बिनी आएका छन्।
लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार सन् २०२३ मा तेश्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका १६ हजार १७२ जना पर्यटकले लुम्बिनी अवलोकन गरेका छन्। त्यस्तै, थाइल्याण्डका १५ हजार ७२१, भियतनामका १० हजार ४१४, चिनिया ६ हजार ११३, दक्षिण कोरियाका ५ हजार ३०२, जर्मनी २ हजार १९८ र १ हजार ६७८ अमेरिकी पर्यटक लुम्बिनी आएका छन्।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इण्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अष्टेलियाबाट आउने पर्यटकहरूको संख्या धेरै हुन्छ।
त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोष्टारिका, क्रोएटिया, साइप्रस, इजिप्ट, इष्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरूग्गे, स्विटजरल्याण्ड, स्विडेन, सुडान, स्लोभेनिया लगायतका मुलुकका पर्यटक समेत आउने गर्छन्।











