पाल्पा– ऐतिहासिक पाल्पा दरबार परिसर मख्खन टोलमा ढुङ्गा बिछाउने काममा ढिलाइ भएको छ । निर्माण कार्य सम्झौता अवधि सकिँदा पनि निर्माण व्यवसायीले काम गर्न सकेको छैन ।
मख्खन टोलको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले आठ महिनाअघि ५७ वटा घरटहरा हटाएको थियो । २०८० साल असार ९ गतेदेखि ठेक्का दिएर ढुङ्गा छाप्ने काम अघि बढाइएको हो ।
छ महिनाभित्र काम सकिने गरी नगरपालिकासँग सम्झौता भएको थियो । ठेक्का लिएको निर्माण व्यवसायी एबी बिल्डर्स ग्रुप एन्ड सप्लायर्स काठमाडौँले निर्माण कार्यमा ढिलासुस्ती गरेको छ ।
निर्माण कम्पनीले मख्खन टोलमा ८८ घनमिटर ढुङ्गा छाप्नका लागि ४१ लाख ६९ हजार ६४३ रुपियाँमा सम्झौता गरेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो ।
घरटहरा हटाई समयमा नै ढुङ्गा बिछाउने काम नगर्दा ऐतिहासिक बजार क्षेत्र कुरूप देखिएको छ ।











