पाल्पा –पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानिय स्काउट समितिको आयोजनामा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरूका लागि संचालन गरिएको ६ दिनको आवासीय आधारभूत स्काउट तालिम दिएको छ । ५५३औ बि टि सी र ४०५ पि.टि.सी.स्काउट कोर्शको तालिम उद्बुद्ध मा.बि.मा सम्पन्न भएको हो ।
गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरूका लागि संचालन गरिएको ६ दिनको आवासीय आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएका हुन् ।
तालिमको समापन समारोहमा क्षेत्र नम्बर १ का सांसद नारायण प्रसाद आचार्यले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उद्धेश्य पुरा गराउन तालिम सार्थक रहने बताए । अब हरेक बिधालयमा स्काउट अभियानको विस्तारमा लागि पर्न आग्रह गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले राष्ट्र र्निमाणमा स्काउटको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उनले तालिम प्रभावकारी र उत्साहजनक रुपमा सम्पन्न भएको हुँदा यसको निरन्तरता र बिस्तारका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनुभयो। त्यस्तै नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले तालिमलाई तालिममा मात्र सिमित नराखी स्काउटिङ गतिविधिलाई व्यापक बनाउन तालिम प्राप्त शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक नुन बहादुर थापाले स्काउटको मर्म अनुसारको काम गरि स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन गाउँपालिकाको सकारात्मक सहयोग रहने बताउनुभयो। उहाँले आफु पनि गाउँपालिकाको स्काउट संरक्षकको रुपमा दिक्षित भएको हुँदा स्काउट क्रियाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
नेपाल स्काउट प्रदेश सदस्य तथा पाल्पा ईन्चार्ज जीवन आचार्यले स्काउट पाठ्यक्रम अनुसार तालिम सफलता पुर्वक सम्पन्न भएको र आगामी दिनमा योजनाका साथ काम गर्न आवस्यक रहेको बताउनुभयो । बिपद व्यवस्थापन , समुदाय सचेतना कार्यक्रममा पाल्पामा स्काउटको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यसका फाइदा ,क्याम्प फायरको महत्व ,गाठो, डोरीको प्रयोग ,सामाजिक परोपकारका काम ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सीप साथै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपहरु सिकाइएको थियो । तालिमको प्रशिक्षण तथा सहजीकरण राष्ट्रिय प्रशिक्षक सत्य नारायण शाही, रविना पौडेल,नेत्र गैरे, नविन आचार्य, यम बहादुर ठाडा, आशा गाहा र सुनिता बस्नेतको टोलीले गरेको स्थानिय स्काउट समिति पूर्वखोलाले जनाएको छ ।












