बसुदेव ढकाल,पाल्पा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादन संग जोड्न आग्रह गर्नु भएको छ । रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १६ औं वार्षिक साधारण सभाको समुद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सहकारी लाई उत्पादनमा जोड्नु पर्नेमा जोड दिनु भएको हो ।
सहकारीलाई उत्पादन संग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुने उल्लेख गर्दै उहाँले भन्नुभयो “सहकारीलाई उत्पादन संग जोड्न सकेनौ भने हामीले बचत गरेको पैसा पाउन मुद्दा हाल्नु पर्ने स्थिति आउन सक्छ ।” चौधरीले सहकारीका शेयर सदस्यहरुलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश सरकारले २ लाख जनतालाई प्रदेश सरकारले रोजगारी दिने लक्ष्य लिएको बताउँदै महिला, युवा किसानलाई कसरी जोड्ने मुख्य विषय रहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादन बजार सम्म पुर्याउने वातावरण तयार गर्नु आवश्यक रहेको रहेको बताउनुभयो । चौधरीले रामपुरलाई व्यवस्थित शहरको रुपमा विकास गर्नका लागि पहल गरिरहेको बताउनुभयो ।
हेटल श्रीनगरमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर बचत तथा ऋण सहकारीले रामपुरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूणर् टेवा दिएको बताउनुभयो । उहाँले रामपुरको विकासको लागि रामपुर फाँट सिंचाई र रामपुर आर्यभञ्ज्याङ सडकको स्तरोन्नतिको खाँचो रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारीलाई उत्पादन संग जोडेर अघि बढाउन नगरपालिका समन्वय गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो । अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले पूर्वी पाल्पाको आर्थिक विकासमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
श्निबार भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पूर्व युवराज खनाल, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, जिल्ला सहकारी संघ पाल्पाका सदस्य इश्वरी देवी खनाल, जिल्ला पृथ्वी टेलिभिजनका व्यवस्थापक कृष्ण प्रसाद पौडेल, पाल्पा मेट्रो सिटी हस्पिटलका प्रबन्ध निर्देशक मनिषा सेन्चुरी, शेयर सदस्यहरु विष्णु पौडल र विन्दु श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले सहकारीलाई नयाँ प्रविधिको प्रयोगमा जोड दिदै आएको बताउनुभयो ।
सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक हजुलदिन मियाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको हो ।
साधारण सभाको अवसरमा संस्थाका पूर्व उपाध्यक्ष नगिलाल पौडेललाई सम्मान गरेको छ । उत्कृष्ट बालबचत कर्ता, नियमति बचत कर्ता, दैनिक बचत कर्ता, असल व्यवसायी, असल ऋणीलाई गरिएको थियो । साथै ७० वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो । ५० जना सेयर सदस्य भाग्यशाली चिट्टा उपहार पाउन सफल भएका थिए । साधारण सभाको अवसरमा पाल्पा मेट्रोसिटी हस्पिटल प्रालिले निशुल्क मधुमेह र ब्लड प्रेसर जाँचको व्यवस्था गरेको थियो । गत आर्थिक वर्ष २०७९।०८० मा १ करोड ५५ लाख ४६ हजार ८ सय ८८ रुपैयाँ ७५ पैसा नाफा गर्न सफल भएको थियो । जिल्लाको १० वटै स्थानिय तहलाई सेवा क्षेत्रको रुपमा विस्तार गरेको सहकारीमा ४ हजार ५ सय ५७ शेयर सदस्य रहेका छन् ।












