बासुदेव ढकाल, (रामपुर)पाल्पा-भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाले रजत महोत्सव समारोहको अवसरमा पत्रकार सम्मेलन गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन गरी रजत महोत्सव समारोहका अवसरमा हुने विभिन्न कार्यक्रमबारे जानकारी गराएको छ । रजत महोत्सवका अवसरमा अन्तर मावि लगायत विभिन्न कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल गोपि सिग्देलले बताउनुभएको छ । विद्यालयले २५ आँै वर्ष पूरा गरेको उपलक्ष्यमा मङ्सीर १४ गते १९ गतेसम्म विधिवत रुपमा बिभिन्न कार्यक्रम आयोजना गरी रजत महोत्सव समारोह कार्यक्रम मनाउने कार्यक्रम रहेको प्रिन्सिपल सिग्देलले बताउनुभएको छ । रजत स्मारिका विमोचन, रजत स्तम्भ अनावरण, पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम सहित मनाउने तयारीलाई तीब्र पारिएको विद्यालयले जनाएको छ । पूर्वी पाल्पाको शैक्षिक क्षेत्रको विकासका लागि वि.सं २०५५ सालमा स्थापना गरी भवन अभावमा चउर, कोठा भाडाबाट सुरु भएको बिद्यालय हाल आफ्नै पाँच रोपनी चार आना जग्गाकोसुबिधा सम्पन्न भवनमा विद्यालय भइरहेको विद्यालयका प्रबन्ध निर्देशक तथा संस्थापक अध्यक्ष अनेरी क्याप्टेन रोमनबहादुर रानाले बताउनुभयो । ६० जना विद्यार्थी लिएर रामपुर नगरपालिका वडा नं ५ स्थित मटेरीमा सुरु गरिएको विद्यालयमा हाल एक हजार ५० जना विद्यार्थी अध्ययनरत छन् भने ५८ जना शिक्षक कर्मचारी कार्यरत छन् । पूर्वप्राथमिक तहदेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायमा पठनपाठन सुरु गरेपछि उच्च शिक्षाका लागि विद्यार्थीलाई धेरै सहज भएको छ । द्धन्द्धकालमा निकै चुनौतीलाई सामाना गर्दै नियमित पठनपाठन गरेको विद्यालयले पाल्पा जिल्लामै छुट्टै पहिचान दिन सफल भएको छ । रजत महोत्सव समारोहको उद्घाटन भारतीय राजदुतावासका रक्षा सहचारी सहायक नविन जानुले गर्नुे तय भएको जानकारी गराईएको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रधानाध्यापक कमल शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक हरिप्रसाद भट्टराईले गर्नुभएको हो ।













