लुम्बिनी चिनी मिलले प्रदूषण गरेको भन्दै पश्चिम नवलपरासीको सुनवलका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उद्योगबाट निस्कने प्रदूषण नियन्त्रण गर्न उद्योग प्रशासनलाई पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
अघिल्लो वर्ष स्थानीय र उद्योग प्रशासनबीच चार बुँदे सहमति भए पनि उद्योग प्रशासनले चासो नदिएको लुम्बिनी चिनी मिलबाट सिर्जित प्रदूषण न्यूनीकरण संर्घष समितिका सचिव प्रदीप अर्यालले बताउनुभयो । ‘हामीले वर्षौंदेखि प्रदूषण नियन्त्रणका लागि उद्योग प्रशासनलाई आग्रह गर्दै आएका छौँ । तर, अहिलेसम्म सुनुवाइ भएको छैन, ’अर्यालले भन्नुभयो,‘प्रदूषण र गन्धले सुनवल आक्रान्त बन्दै गएको छ भने चिनी मिल सञ्चालन हुँदा धुलोका कणले श्वासप्रश्वासमा नै समस्या हुने गरेको छ ।’
अघिल्लो वर्ष उद्योगमा तीन दिनसम्म तालाबन्दी भएपछि सहमति भएपनि उद्योग प्रशासनले बेवास्ता गरेको भन्दै अहिलेको आन्दोलन निर्णायक हुने संर्घष समितिको दाबी छ । उद्योगको गन्ध र प्रदूषणको कारण स्थानीय आजित छन् । यसअघि उद्योग सञ्चालनमा रहँदा भुस डढाएर वरपरका बस्तीमा प्रदूषण फैलँदा श्वासप्रश्वासमा गम्भीर असर पुगेको भन्दै भुस विस्थापित गरेर नयाँ प्रविधि जडान गर्न स्थानीयले आग्रह गरेका थिए ।
प्रदूषण न्यूनीकरणको काम भइरहेको र केही महिनामा नै उपकरण जडान गर्ने लुम्बिनी चिनी मिल प्रशासनले जनाएको छ ।












