पाल्पा- हरीबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीको कालीगण्डकी नदीमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा विशेष गरी बिहानमा तुलसीको पुजा आजा गरी विवाह गरीदिने, कालीगण्डकी नदीमा स्नान गर्ने र दिनभर उपवास बस्ने प्रचलन रही आएको छ ।
हरीबोधनी एकादशीका दिनमा राम्दीमा भने विशेषगरी तोरन तार्ने प्रचलन रही आएको छ । बाबीयोको डारीको तोरन बनाएर एकादशीको दिनमा नदी वारपार हुनेगरी तारेमा परिवारमा सुख शान्ति हुने र पृतीहरुको बैकुन्ठमा बास हुने धार्मिक विश्वास रहेकाे छ । बुटवल देखि आएकी दर्शनार्थी दिपा ज्ञवालीले राम्दीमा पहिले पहिले बोटेहरुको सहायतामा नदीमा तोरन तारीने भएपनि आजभोली भने, बोटे समुदायको पलायन भएसंगै आफूहरुले पुलबाट नदी वारपार गराएर तोरन तारेको बताईन ।
परम्परागत रुपमा बाबीयोको डोरीलाई कम्मरमा बादेर नदीमा पौडी खेली नदीपार गराउने भएपनि अहिले भने नदीमा पौडने बोटे समुदायको संख्यामा कमी आउनुका साथै जोखिम पनि बढी हुने र पछिल्ला पुस्ताका मानिसहरुले तोरन पुलबाटै तार्ने गरेको स्थानीयले बताए ।
परम्परादेखि चलीआएको तोरन तार्ने संगै एकादशीका अवसरमा यसक्षेत्रमा कृषि जन्य बस्तुहरू सुन्तला, सखरखण्ड, केरा, डाला ,सुपा लगायतका स्थानीय उत्पादनको व्यापार समेत हुने गर्दछ । जेठी माईली र कान्छी गरी तिन दिन सम्म चल्ने मेलामा पहिले दिनमा गंगा स्नान गर्न नपुगेका भक्तजनहरु माहिली र कान्छी एकादशीका दिन राम्दीमा आउने गर्दछन । एकादशीका दिनमा वृद्धहरू धर्मकर्मका लागी राम्दीमा आउने गरेतापनि युवा युवतीहरु भने घुमघाम र मनोरञ्जनका लागी राम्दीमा आउने गरेका छन













