येरेभान — नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरू उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो ।
विस्फोटका कारण झण्डै ३ सय मानिस घाइते भएको एपी न्युजले जनाएको छ । घटनास्थलमा १३ जनाको शव भेटिएको तर तिनको परिचय नखुलेको स्थानीय अधिकारीहरूले जनाएका छन् । थप सात जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
आर्मेनियाका अधिकारीहरूले २ सय ९० जनाभन्दा बढी घाइतेहरूलाई विभिन्न अस्पतालन भर्ना गरिएको बताएका छन् । साथै तीमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।
१० महिनादेखि इन्धन आपूर्तिमा अजरबैजानको अवरोधका बीच उक्त डिपोमा इन्धन लिन लामबद्ध भएका उपभोक्ताहरू मारिएको आशंका गरिएको छ ।
यससँगै नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली नागरिकहरू शरण खोज्दै येरेभान आएका छन् । अजरवैजानको सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सयौंले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।













