असोज ९,पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका –१, चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
सारुको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
घरमै विरामी परेपछि सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो ।
जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।













