पाल्पा– सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको सिद्धबाबा क्षेत्रमा दैनिक घण्टौं जाम र धुलोका कारण यात्रु मारमा परेका छन् ।
पाल्पा सहित गुल्मी, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ्, अर्घाखाँची पश्चिम क्षेत्रका एक दर्जन बढी जिल्लाका दैनिक हजारौं यात्रुहरु ओहोर दोहोर गर्ने सडकमा दैनिक जाम र धुलोको कारण यात्रुहरु मारमा परेका हुन् ।
सिद्धार्थ राजमार्ग क्षेत्रमा नाली निर्माण, सडक चौडा, ग्याभिङ् निर्माणका नाममा भइरहेको चरम ढिलासुस्तीका कारण यात्रुहरुले दैनिक सास्ती खेप्नु परेको छ ।
तल्लो डुम्रेदेखि चिडियाखोला सम्मको लाइनमा दैनिक जाम हुँदा समयमै गन्तव्यमा आउन जान समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । पाल्पा बुटवल खण्डमा एक, डेढ घण्टामै यात्रा गर्न सकिनेमा अहिले घण्टौंको सवारी जामका कारण ४।५ घण्टा लाग्ने गरेको सवारी चालकहरुको गुनासो छ ।
सडक विभागको काममा ढिलासुस्ती, अनुगमन गर्ने निकायको चरम बेवास्ता, प्रशासनको ध्यान जान नसक्नु, ट्राफिकको व्यवस्थापन हुन नसक्ने जस्ता समस्याका कारण सामान्य लापरवाहीले पनि यात्रुहरु घण्टौंसम्म पहिरो क्षेत्रमा बस्न बाध्य भएका छन् ।
हिँडेर जान धुलो र साँघुरो सडक छ, गुल्मीबाट आएका यात्रु उमेश अर्यालले भन्नुभयो, गाडीमै बस्ने हो भने तीन, चार घण्टा पहिरोमै जाममा बस्नुपर्ने भयो । सिद्धबाबा क्षेत्रमा सवारी जाम हुँदा माथिबाट ढुंगा र पहिरो झर्ने र गाडी र यात्रुको ज्यान समेत जान सक्ने भएपनि सरोकारवालाको चरम लापरवाहीले यात्रुहरु दैनिक मारमा परेको उहाँको गुनासो छ । सडक विभागले भने सडक मर्मतको काम चलिरहेकोले केही असहज भएको जनाएको छ ।













