खेमराज पाण्डे
पाल्पा ११ भाद्र – रम्भाका किसान अकबरे खुर्सानी तर्फ आकर्षित भएका छन् । अकबरे खुर्सानी खेतिलाई गाउँपालिकाले प्रोत्साहित गरेपछी किसानहरु आकर्षित भएका हुन् । रम्भा गाउँपालिकाले वडा नं ३ पिपलडाँडाको भुटुकखर्क टोललाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्न योजना बनाएको छ । गाउँपालिकाले प्रोत्साहन गरेपछी पिपलडाँडाको सोमधारे कृषक समुहका किसानहरुले अकबरे खुर्सानी खेति गर्दै आएका छन् । समुहमा ४४ घरपरिवार आवद्ध रहेर खेति गरिरहेको समुहका कृषक चक्र बहादुर सुर्यवंशीले बताउनुभयो ।
गाउँपालिकाले समुह अन्तरगत रहेर तरकारी खेति गर्नका लागि गत आर्थिक बर्ष ६ लाख रुपैंया बजेट विनियोजन गरेको थियो । समुहकै लागि सिताके च्याउ विस्तार गर्न पालिकाले ८ लाख रुपैंया वजेट विनियोजन गरेको थियो ।पालिकाले यसबर्ष तरकारी पकेट क्षेत्रको लागि ३ लाख रुपैंया बजेट विनियोजन गरेको छ । गाउँपालिकाले जग्गा लिज, यान्त्रिकरण र अन्य व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दा किसानहरु तरकारी खेति तर्फ उत्साहित बनेका हुन् । किसानहरुले पालिकाको प्रोत्साहनमा काउली, बन्दा, सिमी, साग, करेला, लौका, घिरौंला जस्ता तरकारी उत्पादन गर्ने गरेका स्थानीय अगुवा कृषक केदार प्रसाद बस्यालले बताउनुभयो । किसानहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारका साथै तानसेन बुटवललगाएतका स्थानमा विक्रि हुने गरेको बस्यालले बताउनुभयो ।
समुहमा मिलेर काम गर्दा सामुहिक भावनाको विकास हुने र आम्दानीको श्रोत वृद्धि हुने स्थानीय कृषक राम बहादुर सुर्यवंशीले बताउनुभयो । गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । कृषि उत्पादनका क्षेत्रमा गाउँपालिकाले कृषकहरु संग् सहकार्य गरेर काम गरेको र बजारिकरणका क्षेत्रमा समेत योजना बनाएको अध्यक्ष भण्डारीको भनाई छ ।
कृषकहरुले अहिले साढे पाँच हजार मुढामा च्याउ खेती गरिरहेका छन् । अकबरे खुर्सानी र टमाटर प्रसस्त मात्रामा उत्पादन भईरहेको छ । बजारिकरणका लागि पालिकाले समन्वय गरिरहेको र आवश्यक परेमा कृषि एम्बुलेन्स सञ्चालन गरेर भएपनि बजारिकरणमा समस्या नहुने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।













